Aafno Khabar

पठनपाठन सुरु गर्ने काठमाडौंका स्थानीय तहको तयारी

  • आफ्नो खबर
  • December 1, 2020 प्रकाशित

काठमाडौं । काठमाडौंका अधिंकाश स्थानीय तह विद्यालयमा पठनपाठन सुरु गर्ने तयारीमा जुटेका छन् । कोरोनाका कारण बन्द भएका शिक्षण संस्थाको शैक्षिक तालिका नै प्रभावित हुने देखिए पछि स्थानीय तहहरु विद्यालय खुलाउने तयारीमा जुटेका हुन ।

स्वास्थ्य मापदण्ड अपनाएर शिक्षण सिकाइ क्रियाकलाप अघि बढाउन अधिकार प्रत्यायोजन भएपछि कतिपय स्थानीय तहले पठनपाठन सञ्चालन गराइसकेका छन् भने कतिपय शुरु गर्ने तयारीमा छन् । शङ्खरापुर नगरपालिकाले स्वास्थ्य मापदण्ड अपनाएर सामाजिक दूरी कायम गरी आफ्नो अनुकूलता हेरेर पठनपाठन सञ्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिइसकेको नगरप्रमुख सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो ।

तारकेश्वर नगरपालिकाले स्वास्थ्य मापदण्ड अपनाएर मङ्सिर २१ गते बाट विद्यालय सञ्चालन गर्ने भएको छ । एकै पटक धेरै विद्यार्थी भेला गराउँदा सङ्क्रमणको जोखिम हुने भएकाले बिहान र बेलुका दुई समयमा आलोपालो गरेर विद्यालय खोल्ने तयारीमा रहेको नगरपालिकाले जनाएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाले मङ्सिर २१ गतेबाट विद्यालय सञ्चालन गर्ने भएको छ । जोरबिजोर प्रणाली लागू गरेर स्वास्थ्य मापदण्ड अपनाएर मङ्सिर २१ गतेबाट विद्यालय खोल्ने तयारीमा रहेको नगरप्रमुख कृष्णहरि थापाले जानकारी दिनुभयो ।

सङ्क्रमण बढी भएको क्षेत्रमा विशेष स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्ने तयारीमा रहेको बताइएको छ । गोकर्णेश्वर नगरपालिकाले आजदेखि विद्यालय खोलेको नगरपालिकाले जनाएको छ । बूढानीलकण्ठ नगरपालिकाले विद्यालयको क्षमता र विद्यार्थी सङ्ख्या हेरेर विद्यालय खोल्ने तयारीमा रहेको जनाएको छ ।