काठमाडौं । पूर्व युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले जननेता विश्वेश्वरप्रसाद कोइरालाको विचारबाट अब मुलुकको विकास गर्नुपर्ने बताउनुभएको छ ।
विपी कोइरालाको १०७ औँ जन्मजयन्तीका अवसरमा विपी वाटिका वृत्त, शेषनारायणले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा पूर्वमन्त्री केसीले प्रजातन्त्र स्थापनामा विपीको भूमिकाको प्रशंसा गर्दै दक्षिण एसियाकै सफल नेता विपीको विचारलाई रुपान्तरण गर्दै सबै मिलेर देशको विकास गर्नुपर्ने बताउनुभयो ।
‘रैतीलाई जनता कसरी बनाउने र प्रजातन्त्रका मार्फतबाट मुलुकको विकास हुन्छ र जनताको सुख, समृद्धि हासिल हुन्छ भन्ने विचारका साथ आजीवन लाग्नुभएका महामानव विपी नेपालको मात्र नभएर दक्षिण एसियामै आफूलाई स्थापित गर्न सफल हुनुभयो।’, केसीले भन्नुभयो, ‘राणा शासनको अन्त्य गरी जनता र प्रजातन्त्रको पक्षमा रुपान्तरण गरेर कसरी मुलुकको विकास गर्ने भन्ने विपीको विचार देश विकासको लागि अहिले पनि उत्तिकै सान्दर्भिक छ ।’
केसीले अब दक्षिणकाली क्षेत्रलाई जैविक विविधताका रुपमा विकास गरिने बताउनुभयो । बाँझो जमीनको सदुपयोग गर्दै रुख र वन पैदावारबाट स्थानीयरुपमा रोजगारी सिर्जना गराउने र जनताको आय आर्जन बढाउने तर्फ सबै लाग्नुपर्ने उहाँले बताउनुभयो ।
उक्त कार्यमा जुट्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई केसीले आग्रह गर्नुभयो ।
वृक्षारोपण कार्यक्रममा विपी कोइराला स्मृति प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र पराजुलीले दक्षिणकाली नगरपालिकामा वृक्षरोपण मार्फत सुरु भएको विपी वाटिका वृत्त, शेषनारायण र स्थानीय नेतृत्वले थालेको अभियानले स्वर्गीय जननेता कोइरालालाई सच्चा सम्मान मिलेको बताउनुभयो ।
विपी कोइराला स्मृति प्रतिष्ठानका सिईओ राजेन्द्र पराजुली, स्थानीय सम्पदा, जैविक महत्व र सबै कुरालाई विश्लेषण गरेर सुरु गरिएको यो अभियान सबैको साझा रहेको भन्दै सिईओ पराजुलीले यस क्षेत्रका स्थानीय व्यक्ति तथा समाजको नेतृत्वमाझ विपी वाटिका वृत्तले एउटा छहारीको रुपमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
विपी कोइरालाको १०७औँ जन्मजयन्तीका अवसरमा दक्षिणकाली नगरपालिका–५, शेषनारायणमा आज विपी वाटिका वृत्त स्थापना गरिएको हो ।
कार्यक्रममा बागमती प्रदेशका सांसद पुकार महर्जन, दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत, उपप्रमुख बसन्ती डंगोल तामाङ, वडा नं ५ प्रमुख श्याम खत्री र स्थानीय जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।