काठमाडाैं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको जानकारी दिनुभएकाे हाे ।
प्रवक्ता गौतमका अनुसार कोरोना संक्रमणबाट पाल्पाकी ३०, काठमाडौंकी ५१ र भक्तपुरकी ६२ वर्षीया महिला तथा पर्साका ४८ र ३९, सिरहाका ८४, गोरखा ३८, कास्कीमा ५८, काठमाडौंमा ८३, ललितपुरका ७२ र ६१ तथा भक्तपुरका ८२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हाे ।
नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ । शनिबार नेपालमा ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुगेको छ । संक्रमितमध्ये २० हजार ५ सय ५५ जना निको भएर घर फर्किएका छन् ।