Aafno Khabar

काेराेना महामारी थप भयावह हुने जोखिम बढ्योः डब्लूएचओ

  • July 14, 2020 प्रकाशित

जेनेभा । कोरोना भाइरसको विश्वव्यापी महामारी थप खराब र भयावह बन्न सक्ने जाेखिम बढेकाे विश्व स्वाथ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । डब्लूएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले धेरै देशहरु ‘खराब दिशामा गइरहेकाले’ स्थिति थप भयावह बन्न सक्ने बताएका हुन् ।

संक्रमण नियन्त्रणमा लिन प्रभावकारी हुने भनेर प्रमाणित भएका उपायहरु बेवास्ता गरिएका देशहरुमा संक्रमण तीव्र गतिमा बढिरहेको उनले बताए ।

जेनेभामा सोमबार भएको पत्रकार सम्मेलनमा डब्लूएचओका महानिर्देशक डा. टेडरोजले कतिपय देशका नेताहरुले काेराेना नियन्त्रणका लागि समान खालको रणनीति नअपनाउँदा समस्या उत्पन्न भएको बताए ।

उनले काेराेना भाइरस मानिसकाे सबैभन्दा ठूलाे शत्रु भएकाे पनि बताएका छन् । उनले भनेका छन्, ‘यदि आधारभूत नियमहरु मानिएन भने निकट भविष्यमा विश्व पुरानाे सामान्य अवस्थामा फर्किने सम्भावना देखिँदैन ।’

विश्वभरमा सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा अति तीव्र गतिमा संक्रमण बढिरहेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना रिसाेर्स सेन्टरकाअनुसार अमेरिकामा अहिलेसम्म संक्रमित हुनेको संख्या ३३ लाख ६१ हजार भन्दा बढी छ । एक लाख ३५ हजार भन्दा बढीकाे काेराेना संक्रमणबाट मृत्यु भइसकेकाे छ ।

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ३० लाख ६१ हजार भन्दा बढी पुगेको छ । अहिलेसम्म पाँच लाख ७१ हजार ८ सय भन्दा धेरैको ज्यान गएको छ ।