भारतको नयाँ दिल्लीमा ठूला भेला, रात्रि क्लब, जीम र स्पा बन्द गर्न निर्देशन दिइएको छ ।
मुख्यमन्त्री अरविन्द केजरीवालले सोमबार धेरै मानिस भेला हुने ठाउँमा बन्द गराउन निर्देशन दिएका हुन् । निर्देशन अनुसार ठूला भेला, रात्रिकालीन क्लब, जीम र स्पा कम्तीमा यही मार्च ३१ सम्म बन्द हुने भएका छन् ।
कोरोना भाइरसको सङ्क्रमणका कारण दिल्ली राज्यले यस्तो निर्णय लिएको हो ।
विवाहलगायतका कुनै पनि जमघटमा ५० जनाभन्दा बढी उपस्थित हुन नपाइने पनि बताइएकाे छ । राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसका सात जना सङ्क्रमित भेटिएका छन् ।
देशभरि भने अहिलेसम्म सङ्क्रमित ११४ पुगेको अधिकारीहरुले जनाएका छन् । भाइरसकाे संक्रमणबाट २ जनाकाे निधन भइसकेकाे छ ।