काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकारले चुनावमा गरेका वाचा पूरा नगरेकोमा जनतालाई अहिले पश्चताप भएको स्पष्ट पारेका छन् ।
उनले भने,‘सरकारले यो दुई वर्षमा जनतामा पूरै निराशामात्रै पैदा गरेको छ, सरकारले काम गर्न नसक्दा जनताले पनि अहिले पश्चताप गर्न थालेका छन् । सरकारले हाई–फाईमात्रै देखायो, पब्लिसिटी र स्टन्टमात्रै देखायो, उसले अधिनायकवादी स्वरुप देखाएको छ ।’
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता महतले यो सरकार गठन गर्दै गर्दा जनतामा यसले निकै आशा र महत्वकांक्षा जगाएको सुनाए । उनले भने,‘चुनावमा कम्युनिष्टहरुले महत्वकांक्षी योजना र आशा जगाएका थिए, त्यही भएर उनीहरुले बहुमत ल्याए ।
तर, कम्युनिष्टहरु प्रोपागाण्डा र प्रचार गर्न सिपालु हुन्छन् । उनीहरुसँग महत्वकांक्षा पूरा गर्ने क्षमता पनि छैन् । यो सरकारले पूरा हुनै नसक्ने लक्ष्य देखाएको थियो । सुरुमै आवश्यकत्ताभन्दापनि महत्वकांक्षी लक्ष्य लिएको थियो । तर, उसले पूरा गर्नसक्ने कुरा पनि पूरा गर्न सकेन् । अहिले देशमा सुशासनको अभाव छ ।’