Aafno Khabar

हस्तमैथुनको भिडियो भाइरल बनाएर पैसा कमाउन भिडियो बनाएको अभियुक्तको बयान

  • January 14, 2020 प्रकाशित

काठमाडौं । प्रहरीले सार्वजनिक बसमा युवतीका टाउकोमा हस्तमैथुन गर्ने र त्यसको भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्ने रविन सार्की भनिने रविन रुचाललाई पक्राउ गरेको छ।

अपराध महाशाखाको टोलीले सोमबार चितवनको भरतपुर, विकास चोकबाट रुचाललाई पक्राउ गरेको हो। रुचालले बनाएको अश्लिल भिडियो गएको वर्षको माघमा सार्वजनिक भएको थियो। पक्राउ परेका रुचालले तीन वर्षअघि बानेश्वरमा डेरा गरी रिक्सा चलाउने गरेको पनि खुलेको छ।

सामाजिक सञ्जालमा वोमन वारियर नामक पेज र पोर्नसाइटमा अश्लिल भिडियो अपलोड गरेर पैसा कमाउने उदेश्यले यस्तो भिडियो बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको महानगरीय अपराध महाशाखाले जनाएको छ। सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि रविन भागेर भारत गएको र सात महिनापछि चितवन फर्किएको प्रहरीले जानकारी दिएको छ।

दिल्लीमा तीन महिना मम फ्याक्ट्रिमा काम गरेको र त्यहाँबाट कस्मीर गई नेपाल फर्केको रुचालले प्रविधिका केही कुराहरु पनि सिकेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनले सामाजिक सञ्जाल र फेसबुकबाट त्यस्तो भिडियो पोष्ट गरेको प्राविधिक अनुसन्धानबाट पत्ता लागेको छ।

पक्राउ परेका रुचालले सो भिडियो बनाएको र भिडियोमा रहेका व्यक्ति उनी नै रहेको पुष्टि भएको तथा हस्तमैथुन गर्दाकै अवस्थासँग दाँजेर हेर्दा निजको संलग्‍नता पुष्टि भएको प्रहरीले जानकारी दिएको छ।

अभियुक्त रुचालले सामाजिक सञ्जालका विभिन्‍न ग्रुपमा यस्ता भिडियोहरु राख्‍ने गरेको त्यसबाट भ्युअर्स बढाउने गरेको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताउनुभयो। पैसाका लागि यस्तो कार्य गर्ने गरेको र यस्तो भिडियो बनाउने ठूलो समूह नै रहेको उहाँको भनाई छ।