Aafno Khabar

विष खुवाएर दुई छाेराकाे हत्या गर्ने आमालाई जन्मकैदकाे फैसला

  • January 14, 2020 प्रकाशित

दैलेख । आफ्ना दुई नाबालक छोराहरुलाई विष खुवाएर हत्या गरेको कसुरमा महाबु गाउँपालिका- १ खरिगैराकी २४ वर्षीया कल्पना नेपालीलाई दैलेख जिल्ला अदालतले जन्मकैद फैसला सुनाएकोे छ ।

घटना प्रकृति र घटना सम्बन्धमा प्राप्त प्रमाणहरुका आधारमा कसुर गरेको ठहर भएकोले जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको एकल इजलासले यस्ताे फैसला गरेकाे दैलेख जिल्ला अदालतका सूचना अधिकारी विनाेद आचार्यले जानकारी दिनुभयो ।

विसं २०७५ कात्तिक १० गते दिउँसो भुटेको भातमा मेटासिड घोलेर खुवाएपछि उपचारको लागि सदरमुकाम ल्याउँदै गर्दा सात वर्षीय जेठो छोरा आयुष नेपाली बाटोमा र तीन वर्षीय कान्छो छोरा अमित नेपालीको उपचारको क्रममा ज्यान गएकाे थियो ।

विष लागेको थाहा पाएपछि स्थानीयको पहलमा अस्पताल ल्याउँदै गर्दा आयुषको बाटोमै र अमितको भने उपचारको क्रममा २०७५ कात्तिक १५ गते कोहलपुर मेडिकल कलेजमा ज्यान गएकाे भनि जिल्ला प्रहरी कार्यालय दैलेखमा कात्तिक १६ गते ज्यानसम्बन्धी कसुरमा जाहेरी दर्ता भएको थियो ।

आयुषको कात्तिक १० गते दैलेख जिल्ला अस्पतालमा र अमितको कात्तिक १५ गते कोहलपुर मेडिकल कलेजमा शव परीक्षण भएको थियो । शव परीक्षण प्रतिवेदनमा ती दुवै बालककाे विषकाे कारण ज्यान गएकाे उल्लेख छ ।

आरोपित कल्पनालाई प्रहरीले २०७५ कात्तिक २० गते हिरासत अनुसन्धान सकेर दैलेख जिल्ला अदालतमा मङ्सिर १० गते दर्ता गराएको थियो । त्यही दिन अदालतले पुर्पक्षका लागि जिल्ला कारागारमा थुनामा राखेको थियो ।

२०७५ भदौ १ गतेदेखि लागू भएको ‘मुलुकी फौजदारी कसुर र सजाय ऐन २०७४’ को दफा १७७ बमोजिम ज्यान मारेको ठहरेको र त्यही ऐनको दफा ४१ बमोजिम खाद्यवस्तुमा विष हालि मारेको खुलेको कारण जन्मकैद गरिएको फैसलामा उल्लेख छ ।

ऐनको उपदफा ४२ ले जन्मकैद भनेको २५ वर्ष कैद हुने प्रस्ट्याएकाे छ । ‘मुलुकी फौजदारी कसुर र सजाय ऐन २०७४’ अनुसार दैलेख जिल्ला अदालतले ज्यान मारेको कसुरमा जन्मकैद भएको याे पहिलो फैसला हो ।

कल्पनाले आफ्नो श्रीमान् गाउँबाट बिहानै रक्सी खाएर आएको विषयमा सामान्य विवाद भएको झोकमा तीन वटै छोरालाई भुटेको भातमा मेटासिड घोलेर खुवाए पनि ५ वर्षीय माइलो छोरा अमृतले भने नराम्रो गन्ध आएको भन्दै खाने कुरा छोडेका थिए । अमृतकाे पालनपाेषण घरतर्फका बाजे सन्तोष र बज्यै गङ्गा नेपालीले गरिरहनु भएकाे छ ।