Aafno Khabar

अमेरिकालाई इरानको चेतावनी, अन्तर्राष्ट्रिय आतङ्कवादको कडा प्रतिवाद हुन्छ

  • January 3, 2020 प्रकाशित

एजेन्सी । अमेरिकी आक्रमणमा आफ्नो सेनाको जनरल मारिएपछि इरानका सर्वोच्च नेताले अपराधीहरूमाथि कडा बदला लिने बताएका छन । शुक्रवार इराकको बग्दादमा इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख जनरल कासिम सुलेमानी मारिएपछि सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीले त्यस्तो प्रतिक्रिया दिएका हुन ।

जनरल सुलेमानी कारमा रहेको बेला अमेरिकी हवाई आक्रमणमा मारिएका हुन । इरानका विदेशमन्त्री जावेद जारिफले सो आक्रमणलाई धेरै नै खतरनाक र मूर्खतापूर्णु भनेका छन । इरानको रिभोलुशनरी गाड्र्सले शुक्रवार सुलेमानीको मृत्यु भएको पुष्टि गरेको त्यहाँको राज्यनियन्त्रित टीभीले बताएको छ ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार सुलेमानी र इरानसमर्थित विद्रोही नेताहरू दुईवटा कारमा विमानस्थलबाट निस्कदै गर्दा आक्रमणमा परेका थिए । सुलेमानी सिरिया वा लेबननबाट इराक आएको बताइएको छ ।

कार्गाे क्षेत्रमा अमेरिकी ड्रोनले केही क्षेप्यास्त्र प्रहार गरेको र कम्तीमा पाँच जना मरेको बताइएको छ । यता इरानका रक्षामन्त्री जारिफले आक्रमणलाई अन्तर्राष्ट्रिय आतङ्कवाद भनेका छन । यो घटनाले उब्जाएको परिस्थितिको पूर्ण जिम्मेवार अमेरिका हुने उनले गरेको ट्वीटमा लेखिएको छ ।

समाचारहरूमा अमेरिकी सेनाले इराकका केही विद्रोही नेताहरूलाई नियन्त्रणमा लिएको भनिएपनि त्यसको पुष्टि भएको छैन । बग्दादमा रहेको अमेरिकी राजदूतावासलाई केही प्रदर्शनकारीले घेरा हालेको र अमेरिका सेनासँग मुठभेड भएको केही दिनपछि यो आक्रमण भएको हो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले घटनापछि अमेरिकाको झण्डा ट्वीट गरेका छन ।