एजेन्सी । डढेलोको खतरा झन् बढेपछि अस्ट्रेलियाको न्यू साउथ वेल्स प्रान्तमा एक हप्ता लामो सङ्कटकाल घोषणा गरिएको छ । प्रख्यात शहर सिड्नी रहेको पूर्वी प्रान्त न्यू साउथ वेल्समा आगामी हप्ता तापक्रम बढ्ने र तेज हावा चल्ने पूर्वानुमान छ जसले डढेलोको खतरा अझै बढाउने बताइएको छ ।
सेप्टेम्बरदेखि डढेलोले अस्ट्रेलियामा १८ जनाको ज्यान लिइसकेको छ भने भिक्टोरिया र न्यू साउथ वेल्समा १,२०० घर खरानी भएका छन् । यो हप्ता मात्रै कम्तीमा १७ जना मानिसहरू हराइरहेका छन् । हजारौँ मानिस न्यू साउथ वेल्सका खतरा मानिएका शहरबाट निस्किएका र ती शहरमा अत्यावश्यक सामान कम हुँदै गएको बीबीसीले जनाएको छ ।
मानिसहरूलाई सुरक्षित स्थानमा लैजाने कार्यलाई अहिलेसम्मकै सबैभन्दा ठूलो स्थानान्तरण भनिएको छ । सङ्कटकाल भोलि बिहान स्थानीय समय अनुसार ८ बजेदेखि सुरु हुने र सात दिन रहने बताइएको छ । प्रान्तीय सरकारले आगामी हप्ताको अवस्था गत हप्ता जत्तिकै नराम्रो हुनसक्ने बताएको छ । गत हप्ता डढेलोले सयौँ घरमा नोक्सान पुर्याएको थियो ।
यसअघि अधिकारीहरूले न्यू साउथ वेल्सको २६० किलोमिटर लामो तटीय क्षेत्र शनिवार अगावै खालि गर्न निर्देशन दिएका थिए । यसको असरका रूपमा सिड्नी र राजधानी क्यानबेरा जाने सडकहरूमा जाम भएका छन् र पेट्रोल पम्पहरूमा लामो लाइन लागेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
डढेलोको धुँवाको कारण क्यानबेराको वायु प्रदूषण बिहीवार अहिलेसम्मकै खराब बनेको समाचारहरुमा जनाइएको छ ।