१. लोकसेवाको तयारी गर्ने विद्यार्थीले लगाव र धैर्यलाई कायम राख्नुपर्छ । पढ्दा जहिलेपनि एउटा ढाँचा/खाका निर्माण गरेर पढ्नुपर्छ ।
२. आफ्ना कमजोरीहरू नलजाई पत्ता लगाउनुपर्छ, जुन विषयमा आफूलाई कमजोर भएजस्तो लाग्छ त्यसमा थप मेहनत गर्नुपर्छ ।
३. सबै विषय र शीर्षकमा औसत ज्ञान राख्नुपर्छ । एउटा विषयमा राम्ररी जान्ने तर अर्कोमा फेल नै हुने अवस्था आयो भने लोकसेवाको परीक्षा पास हुने सम्भावना रहँदै रहँदैन ।
४. खरिदार र सुब्बाको तयारी गर्नेहरूले सूचनात्मक तरिकाले उत्तर दिनुपर्छ, शाखा अधिकृतको तयारी गर्नेहरूले विश्लेषणमा जोड दिनुपर्छ ।
५. शाखा अधिकृतको लागि चौथो पत्र छान्दा आफूलाई सजिलो लाग्ने वा आफूले पढेकै विषय छान्नुपर्छ, साथीभाइको लहलहैमा लागेर चौथो पत्र छान्नु हुँदैन ।
६. सामान्य ज्ञान (जीके) चाहिँ घोक्नैपर्ने विषय हो । तर खरिदारका लागि पढ्ने जीके अधिकृतका लागि पनि काम लाग्छ ।
७. आइक्युले मान्छेलाई नयाँपनको आभास गराउँछ । आइक्युमा राम्रो गर्न सक्ने विद्यार्थीले अरू सबैमा राम्रो गर्न सक्छ ।
८. आफूले पढेका कुरामा स्पष्ट धारणा बनाउनुपर्छ । पढ्दा सकेसम्म दिमागमा सो विषयको चित्र नै उतारेर पढ्नुपर्छ । पढेको विषयमा पनि स्पष्ट धारणा बनेन वा सामान्य जानकारी पनि रहेन भने चाहिँ सोही विषयमा थप मेहनत गरिहाल्नुपर्छ ।
९. गुणन, भाग, जोड र घटाउका सामान्य नियमहरू जान्नुपर्छ । परीक्षामा हिसाब गरेर बस्यो भने काम लाग्दैन । अहिले त क्याल्क्युलेटरको प्रयोगले मान्छेले आफैंलाई विश्वास नगर्ने अवस्था आइसक्यो ।
१०. लेख्ने पेपरमा पढेर मात्रै पुग्दैन । हरेक दिन १५ मिनेट पढेर १५ मिनेटमै एउटा प्रश्नको उत्तर लेख्ने बानी विकास गर्नुपर्छ । यसले आफूलाई राम्रो मात्रै बनाउँदैन परीक्षाको लागि पनि सजिलो हुन्छ ।
११. कुन कुरालाई कहाँ राख्ने भन्ने कुरामा चाहिँ ख्याल गर्नुपर्छ । शव्द चयन र सिलसिला मिलाएर लेख्न सक्नुपर्छ ।
१२. हरेक शीर्षकमा एउटा धारणा चाहिँ बनाउने । जस्तै मुसहर जातिको बारेमा परीक्षामा लेख्न आयो, तर यसका बारेमा आफूलाई केही पनि थाहा भएन । तर त्यसमा पनि नेपालमा विभिन्न जात–जाति धर्म संस्कृति छन् । त्यसमध्ये मुसहर पनि एक हो । यसका पनि आफ्नै प्रकारका विशेषता छन् । मुसहर समुदायका मान्छेले आफ्नो जाति अनुसारका चाडपर्व खुब रमाइलो गरेर मनाउँछन् । त्यसैले मुसहर जाति पनि नेपालको एउटा महत्वपूर्ण जाति हो भनेर चाहिँ लेख्नसक्ने बन्नुपर्छ ।
१३. लोकसेवाको परीक्षा भनेको सुन्दरी प्रतियोगिता हो, त्यहाँ कसलाई राख्ने भनेर मात्रै जाँच लिइएको हो । हैन भने जागिरका लागि सबैजना पहिल्यै योग्य हुन्छन् । त्यसैले जाँचकीको नजरमा भ्रम छर्नेगरी उत्तर लेख्नुपर्छ ।
१४. पहिलेदेखि नै राम्रो गर्दै आएको विद्यार्थीले एक महिना पढेपनि नाम निकाल्न सक्छ । अरू सामान्य विद्यार्थीले ६ महिनासम्म कम्तीमा दिनको पाँच घण्टा पढ्यो भने नाम निकाल्छ ।
१५. तनाव राखेर पढ्नु हुँदैन । आफूले राम्रै गर्दागर्दै पनि नाम निस्किएन भने चाहिँ आफ्नो शैली बदलेर पढ्नुपर्छ ।
१६. हरेक कुरासँग अभ्यस्त हुने कोशिश गर्नुपर्छ । पत्रपत्रिकामा आउने विचारहरू दैनिक पढ्यो भने समसामयिक ज्ञान राम्रो हुन्छ । तर हाम्रो नराम्रो बानी के छ भने हामी नाकैमुनि ठेस लाग्दा पनि देख्दैनौं । सडकछेउमा चेलीबेटी बेचबिखन नगरौं भनेर लेखेको प्रचार टाँसेको हुन्छ । तर हामीले ख्याल गर्दैनौं । तर सोही विषय बारेको ज्ञान लिइहाल्ने कोशिश गर्नुपर्छ ।
१७. विद्यार्थीको कमजोरी कापीमा देखिनु हुँदैन । बडा कूटनीतिक तरिकाले उत्तर दिनुपर्छ । मौलिक हक अन्तर्गत सूचनाको हकको बारेमा लेख्न आयो तर कुन धारामा त्यो हक छ भन्ने ‘कन्फ्युजन’ भयो भने जान्ने भएर धारा उल्लेख गर्नु हुँदैन । धारा उल्लेख नगरेपनि व्याख्या त राम्रोसँग गर्न सकिन्छ । यसरी कमजोरी लुकाउनुपर्छ किनकि जाँचकीले अनुहार त हेर्दैन ।
१८. लोकसेवा यही तरिकाले पढ्नुपर्छ भन्ने कुनै सूत्र छैन । आइक्यु चाहिँ ट्रिक लगाउने कुरा हो । मान्छेलाई मान्छे मन परेको कुरालाई आइक्युसँग तुलना गर्नुपर्छ किनकि त्यो मान्छे किन मन प–यो भन्ने चाहिँ अरूलाई थाहा हुँदैन । आइक्यु पनि त्यस्तै विषय हो ।
१९. किताब मात्रै पढ्ने मान्छे कहिल्यै पास हुँदैन । जीकेबाहेकका अरू कुरामा मौलिकता सबैभन्दा ठूलो कुरा हो । त्यसैले सिर्जनशील बन्नुपर्छ ।
२०. लोकसेवा निकाल्छु भनेर सोच्ने मान्छेले निरन्तरता दिन सक्नुपर्छ । नेपालीहरूमा धैर्य गर्ने बानी एकदमै कम छ । लोकसेवा परीक्षा तयारीका लागि धैर्य चाहिन्छ ।