Aafno Khabar

महाशिवरात्रि आज: शिवालयहरूमा भक्तहरूको घुइँचो

  • आफ्नो खबर
  • February 26, 2025 प्रकाशित

महाशिवरात्रि पर्व आज देशभरका शिवालयहरूमा पूजा, आराधना र दर्शन गरी मनाइँदैछ। भगवान् शिवको उत्पत्तिसँग जोडिएको यो पर्व हरेक वर्ष फागुन कृष्ण चतुर्दशीको रातमा मनाइन्छ। धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार शिवले फागुन कृष्ण चतुर्दशीको मध्यरातमा अवतार लिएको विश्वास गरिन्छ, जसका कारण यस दिन पूजा, आराधना र दर्शन गर्नाले सुख, शान्ति र सद्गति प्राप्त हुने धार्मिक मान्यता रहेको छ।

 

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरेर शिवालयमा पूजा गरिरहेका छन्। शिव पुराणका अनुसार शिवरात्रि चार पवित्र रातहरूमध्ये एक हो, जसलाई कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि भनेर चिनिन्छ।

 

फागुन कृष्ण चतुर्दशीको दिन दीनदुःखी र कष्टमा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने दिन मानिन्छ। माघ महिनामा रूख, बिरुवा तथा झारहरू पत्रविहीन भई जीर्ण हुने र फागुनमा नयाँ पालुवा आउनुको कारण शिवको कल्याणकारी शक्तिसँग जोडिएको विश्वासले यो पर्व मनाइन्छ।

 

महाशिवरात्रिमा भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाआराधना गर्ने, व्रत बस्ने र भगवान् शिवलाई दूध, धतुरो र बेलपत्र चढाउने परम्परा छ। यस दिन उपवास गरी रातभर जाग्राम बसे यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ। भगवान् शिवलाई जाडो हुने जनविश्वासले धुनी जगाई भजनकीर्तनसहित प्रसाद ग्रहण गर्ने परम्परा पनि रहेको छ।