Aafno Khabar

साेमबार यी स्थानमा हुनेछ भारी वर्षा

  • आफ्नो खबर
  • August 23, 2021 प्रकाशित

काठमाडाैं । नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । न्युन चापीय रेखा नेपाल भन्दा केही दक्षिण तिर रहेको महाशाखाले जनाएको छ ।

साेमबार देशभर सामान्य बदली भइरहेकाे छ । अहिले प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ ।

महाशाखाले साेमबार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ । पहाडी भूभागमा भूक्षय, पहिरो र गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

साेमबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

राति देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाकाे बुलेटिनमा उल्लेख छ ।

यसैगरी मंगलबार प्रदेश नं १, बागमती प्रदेश , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको र यी प्रदेशसहित प्रदेश नं २ का केही स्थानमा राति पनि भारी वर्षा हुनसक्ने महाशाखाले उल्लेख गरेको छ ।

बुधबार पनि देशको केही स्थानमा सामान्यदेखि पूर्ण बदली रहने र प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्विनी प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएकाे छ ।