काठमाडाैं । भानुमती महाभारतकी एक पात्र हुन् । उनी अत्यन्तै सुन्दर र बौद्धिक थिइन् । साथै शारीरिक रुपले पनि उनी बलियो भएकाे चर्चा गरिएकाे छ ।
पौराणिक कथा अनुसार भानुमती काम्बोज नरेश चन्द्रवर्माकी छोरी थिइन् । राजाले भानुमतीको विवाहका लागि स्वयंवर समारोह आयोजना गरेका थिए । स्वयंवरमा शिशुपाल, जरासन्ध, रुक्मी, दुर्योधन, कर्णलगायतका भारतवर्षका अनेकौँ राजाहरू निम्त्याइएका थिए ।
भानुमती हातमा वरमाला लिएर आफ्ना दासी एवं अंगरक्षकहरूसँग आइन् र एकएक गरी राजाहरूलाई नियाल्दै अघि बढ्न थालिन् । दुर्योधन चाहन्थे भानुमतीले आफूलाई वरमाला पहिर्याइदिए हुन्थ्यो । तर, त्यसो भएन ।
आफ्नो नजिकबाट भानुमती अलिकति अघि मात्र के बढेकी थिइन् दुर्योधनले झम्टिएर माला खोसेर आफ्नो गलामा आफैँले लगाए । यस्तो अप्रत्यासित घटना हुनेबित्तिकै त्यहाँ उपस्थित राजाहरूले तरबार निकाले । दुर्योधनले पनि नहडबडाएर ती सबै राजालाई कर्णसँग लड्न चुनौती दिए । लडाइँ मच्चियो । कर्ण एक्लैले ती सबै राजाहरूलाई पराजित गरिदिए ।
हस्तिनापुर आएपछि भीष्म पितामहकाे आग्रहमा भानुमती पनि दुर्योधनसँग विवाह गर्न सहमत भइन् । उनीहरूले विवाह गरे ।
भानुमती र कर्णबीच पनि गहिरो मित्रता बसेको थियो । उनीहरूबीच कृष्ण र द्रौपदीको जस्तै मित्रवत् सम्बन्ध थियो । दुवै असल मित्र थिए र यो कुरा हस्तिनापुरमा लगभग सबैलाई थाहा थियो ।
एकपटकको कुरा हो भानुमती र कर्ण बुद्धिचाल खेलिरहेका थिए । खेलमा कर्ण जितिरहेका थिए । त्यतिबेला भानुमतीले दुर्योधन त्यहाँ आएको देखिन् र उठ्ने कोसिस गरिन् । कर्णलाई दुर्योधन आएको थाहा भएन, उनलाई लाग्यो भानुमती खेलमा हारिरहेका कारण उठेर भाग्न खोजिरहेकी छिन् । कर्णले उनलाई समातेर बसाउन खोजे ।
भानुमती त उठिन् तर उनको मोतीको माला कर्णको हातमा आएर चुँडियो । त्यतिबेलासम्म दुर्योधन पनि त्यहीँ आइपुगेका थिए ।
दुर्योधनलाई देखेर भानुमती र कर्ण दुवैजना डराए । दुर्योधनले गलत शंका गर्ने हुन् कि भन्ने डर थियो दुवैमा । तर, दुर्योधनलाई कर्णमाथि पूर्ण विश्वास थियो । उनले छारिएका मोती उठाउन भने र जे कुरा गर्ने उद्देश्यले त्यहाँ आएका थिए त्यही विषयमा कर्णसँग चर्चा गर्न थाले । दुर्योधनको यही विश्वासका कारण आफूबाट भएको घटनालाई लिएर शंका गरिनबाट कर्ण जोगिए ।
कतिपयले उक्त घटनालाई यसरी पनि वर्णन गरेका छन् । दुईजना बुद्धिचाल खेलिरहेका थिए । भानुमतीले हारिरहेकी थिइन् र कर्ण खुसी भइरहेका थिए । यति नै बेला अचानक दुर्योधन आउन लागेको थाहा भएर भानुमती बसेको ठाउँबाट उठ्न खोजिन् । कर्णले हारेर भाग्न लागेकी हुन् भन्ने ठानेर भानुमतीको पछ्यौराको फेर समातेर बसाउन खोजे ।
अचानक भएको यो घटनामा भानुमतीको पछ्यौरा च्यातियो र त्यहाँ भएको मोती चुँडिएर छरियो । यति नै बेला कर्णले पनि दुर्योधन आइरहेको देखे । कर्ण र भानुमतीको अनुहार लाजले रातो भएको थियो । उनीहरू दुर्योधनले के भन्ने हुन् भनेर डराइरहेका थिए । दुर्योधन नजिक आउँदा पनि दुवैले उनको आँखामा हेर्न सकिरहेका थिएनन् । यत्तिकैमा दुर्योधनले भने–मोती छरिरहन दिन्छौ कि म तिमीहरूलाई सहयोग गरौँ मोती उठाउन ?
–वेबदुनियाकाे सहयाेगमा