Aafno Khabar

ट्रायल परीक्षा खुलेपछि नयाँ नियम

  • आफ्नो खबर
  • August 2, 2021 प्रकाशित

काठमाडाैं । साउन अन्तिम सातादेखि ट्रायल परीक्षा खुलाउन लागेको यातायात व्यवस्था विभागले नयाँ व्यवस्था लागू गर्ने तयारी गरेको छ ।

अहिले लाइसेन्स परीक्षा प्रणालीमा शतप्रतिशत अंक ल्याए मात्रै पास हुने व्यवस्था रहेकोमा त्यसलाई केही सहज हुने गरी व्यवस्था गरिएको छ । सुधारिएको प्रणालीअन्तर्गत अब ७० प्रतिशत अंक ल्याए पास हुने व्यवस्था छ ।

याे व्यवस्था अनुसार मोटरसाइकल तथा स्कुटरको ट्रायल परीक्षामा पनि केही खुकुलो बनाइएको छ । प्रयोगात्मक परीक्षाका लागि विभिन्न सूचकमा एक सय अङ्क तोकिएको छ । त्यसमध्ये ७० अङ्क ल्याउने व्यक्ति उत्तीर्ण हुन्छ ।

नयाँ व्यवस्थाले एउटा सानो गल्तीका कारण फेल हुने अवस्थाको अन्त्य गरेको छ । प्रयोगात्मक परीक्षामा सबैभन्दा बढी ट्राफिक संकेतको पालना नगरेमा १५ अङ्क घट्छ । घुमाउरो आठमा एक पटकसम्म रेखा छोएमा वा एक पटकसम्म भुइँमा खुट्टा टेकेमा १० अङ्क घट्नेछ ।

नयाँ निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर र मोपेड चालकका लागि घुमाउरो आठको अंकभार २० तोकिएको छ । दुई पटकसम्म अंकित रेखा छोएमा प्रत्येकपटक ५ अंकको दरले १० अंकभार घट्नेछ । तर ट्रायल फेल भने हुनेछैन ।

दुई पटकभन्दा बढी सो रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, एकपटकभन्दा धेरैपटक खुट्टाले भुइँ टेकेमा, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाएमा वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण भएको घोषणा गरिने व्यवस्था गरिएको छ । साँघुरो फलेकको अंकभार १० तोकिएको छ।

साँघुरो फलेकमा खुट्टाले भुइँमा टेकेमा, फलेकको लम्बाइ पार गर्नुअगावै फलेकबाहिर निस्के पनि अनुत्तीर्ण हुनेछन् । निर्देशिकामा युटर्नको अंकभार १० तोकिएको छ । टर्निङ लाइट नबालेको खण्डमा १० अंक घटाइनेछ । त्यस्तो अवस्थामा पनि अंकित रेखा छोए भने अनुत्तीर्ण हुनेछन् ।

ट्राफिक संकेतका लागि १५ अंकभार तोकिएको छ। ट्राफिक संकेत पालना नगरेको खण्डमा १५ अंक घटाइनेछ । निर्देशिकामा उबडखाबडको अंकभर १५ तोकिएको छ । एक–पटकसम्म सवारीको स्टार्ट बन्द भएको खण्डमा ५ अंकभार घटाइनेछ । तर एकपटकभन्दा बढी स्टार्ट बन्द भयो भने प्रयोगात्मक परीक्षा दिने अनुत्तीर्ण हुनेछन् । त्यसैगरी उकालो (र्‍याप) को अंकभार २० तोकिएको छ । त्यसैगरी परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकनलाई १० अंकभार तोकिएको छ ।