काठमाडौं । पाँच सयभन्दा बढी कोरोना संक्रमित भेटिने जिल्लाको संख्या १० पुगेको छ । मोरङ, पर्सा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, दाङ, बाँके र रुपन्देहीमा पाँच सयभन्दा माथि संक्रमित भेटिएका छन् । त्यस्तै सुनसरी, बारा, मकवानपुर,पाल्पा, बर्दिया, कपिलबस्तु, सुर्खेत, कञ्चनपुर र कैलालीमा दुई सयभन्दा बढी संक्रमित भेटिएका छन् ।
सरकारले दुई सयभन्दा धेरै संक्रमित भएका पहाडी जिल्ला र पाँच सयभन्दा माथि संक्रमित भएका तराईका जिल्लाहरुमा निषेधाज्ञा जारी गर्नसक्ने निर्णय गरेको छ । काठमाडौ उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ भने बाँके लगायतका केही जिल्लाले निषेधाज्ञा गरिसकेका छन् ।
दुई र पाँचसय संक्रमित पुगेका हिमाल, पहाड र तराईका जिल्लाहरूले निषेधाज्ञा गर्ने तयारी गरिरहेका छन् । पछिल्लो तथ्यांकअनुसार काठमाडौंपछि बाँकेमा धेरै संक्रमित भेटिएका छन् । मंगलबार देशभर ४ हजार ५ सय २४ मा कोरोना पुष्टि भएको छ ।