Aafno Khabar

आज पुस पन्ध्र: धान्यपूर्णिमा, योःमरी पुन्ही, उधौली र तमु ल्होसार पर्व

  • आफ्नो खबर
  • December 30, 2020 प्रकाशित

काठमाडौं । आज धान्यपूर्णिमा, योःमरी पूर्णिमा, उधौली र ल्होसार पर्व विभिन्न जात जातीहरुले आ–आफ्ना रीतिरिवाज र संस्कृतिअनुसार मनाउँदै छन ।

कोरोनाको कारण विशेष सुरक्षा सावधानी अपनाएर चाडपर्व मनाउन विज्ञहरुले सुझाव दिँदै आएका छन् । मंसिर शुक्ल पूर्णिमाका दिन धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने चलन छ ।

मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कूलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ ।

कतिपय समुदायले भने आजै कूल परम्पराअनुसार दिवाली वा कूलदेवताको पूजा आराधना गरी धान्यपूर्णिमा पर्व मनाउँछन् ।

नेवार समुदायमा योःमरी पुन्ही

​नयाँ धान भित्र्याएको खुशीयालीमा नेवार समुदायले आज योःमरी पूर्णिमा हर्षोल्लासका साथ मनाउँदैछन् । योःमरी पूर्णिमालाई योःमरी पुन्ही पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा पनि लिइन्छ ।

किराँत समुदाय उधौली पर्व मनाउँदै

यसैगरी मंसिर शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बूहरूको चासोक तङ्नाम धुमधामसँग मनाइँदैछ । तीन दिनअघि सुरु भएको पर्वको पहिलो दिन लिम्बुहरुले चासोक तङ्नाम पर्व मनाएका थिए भने आज संयुक्तरूपमा सबैले उधौली सकेला अर्थात् किराँत पर्व मनाउछन् ।

गुरुङ समुदायको ल्होसार

​गुरुङ समुदायले आज ल्होसार मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउने गरिन्छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिने भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायका मानिसको विश्वास छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।