काठमाडौं । सर्लाहीका उखु किसानले काठमाडौंको माइतीघरमा आन्दोलन सुरु गरेका छन् ।
गएको वर्ष आन्दोलनपछि सरकारले गरेको सहमति पूरा नभएपछि फेरि आन्दोलनका लागि काठमाडौं आएका उनीहरुले आइतबारदेखि आन्दोलन थालेका हुन् ।
चिनी मिलबाट रकम भुक्तानी नपाएको र गएको पुष १८ गते नेपाल सरकारसँग भएको सम्झौता लागू नभएको भन्दै उनीहरुले आन्दोलन थालेका हुन् । सरकारले गत वर्ष गरेको पाँच बुँदे सहमति कार्यान्वयन नभएकाले यस वर्ष आफूहरुले पाउनुपर्ने सबै रकम नलिइकन आन्दोलन नरोक्ने किसानको अडान छ ।
गएकाे वर्ष उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक महिनाभित्रै भुक्तानी दिलाइ दिने भनेर पुष १८ गते किसानहरुसँग सहमति गरेको थियो । तर एक वर्ष बित्दा किसानले सबै रकम पाएका छैनन् ।