Aafno Khabar

त्रिविले अब भौतिक उपस्थितिमै कक्षा सुरु गर्ने

  • आफ्नो खबर
  • November 30, 2020 प्रकाशित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमै अब उच्च शिक्षाका कक्षाहरू सञ्चालन गर्ने भएको छ ।

कोरोनाका कारण विश्वविद्यालयले सञ्चालन गरेको अनलाइन कक्षामा सबै विद्यार्थीको पहुँच पुग्न नसकेर लाखौँ विद्यार्थी उच्च शिक्षाको नियमित अध्ययनबाट बञ्चित भएपछि विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने निचोडमा विश्वविद्यालय पुगेको हो ।

त्रिवि मातहतका धेरै क्याम्पसबाट भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न सक्ने माग गरिएपछि आफूहरूले त्यसका लागि स्वीकृति दिएको विश्वविद्यालयले जनाएको छ । धेरैजसो काठमाडौँ उपत्यका बाहिरका क्याम्पसले अनुमति पाए कक्षा सञ्चालन गर्न सक्ने जनाएका छन्।

खासगरी विश्वविद्यालय मातहतका स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्ने वार्षिक परीक्षा प्रणाली अन्तर्गतका विद्यार्थी अनलाइनमा जोडिन नसकेका कारण भौतिक रूपमा कक्षा सञ्चालन गर्ने कुरालाई प्राथमिकता दिनुपर्ने अवस्था रहेको जनाइएको छ ।

विश्वविद्यालयले वार्षिक परीक्षा प्रणालीको अध्ययन गर्ने स्नातक तथा स्नातकोत्तर तहका विद्यार्र्थीका लागि अनलाइन कक्षा सञ्चालन गर्नसकेको छैन ।