Aafno Khabar

नेपालका सांसद र सरकारी कर्मचारी एसियाकै भ्रष्ट : सर्वेक्षण

  • आफ्नो खबर
  • November 25, 2020 प्रकाशित

काठमाडौं । एउटा सर्वेक्षणमा सहभागी नेपालीहरूले सांसद र सरकारी कर्मचारीलाई सबैभन्दा बढी भ्रष्ट भएको मत व्यक्त गरेका छन् ।

ट्रान्सपरेन्सी इन्टरनेसनलले एसियाका १७ देशमा गरेको सर्वेक्षणका आधारित ‘ग्लोबल करप्सन ब्यारोमिटर एसिया, २०२०’ प्रतिवेदन अनुसार सांसद र कर्मचारीलाई भ्रष्टाचारी मान्ने उत्तरदाता समान ४३ ४३ प्रतिशत छन् ।

त्यस्तै, ४० प्रतिशतले स्थानीय सरकारका अधिकारी र २८ प्रतिशतले प्रहरीलाई भ्रष्ट मानेका छन् । न्यायाधीश र न्यायिक अधिकारीलाई २४ प्रतिशतले भ्रष्ट भनेका छन् ।

विभिन्न क्षेत्रका एक हजार जनामा गरिएको सर्वेक्षण अनुसार १२ प्रतिशतले पछिल्लो एक वर्ष सरकारी निकायबाट काम गर्दा घुस खुवाउनु परेको छ ।

सर्वेक्षण अनुसार ८४ प्रतिशतले सरकारी भ्रष्टाचारलाई सबैभन्दा ठूलो समस्याको रुपमा लिएका छन् । जबकी सरकारी भ्रष्टाचारलाई प्रमुख समस्या मान्नेहरूमा चीनमा ६२, दक्षिण कोरियामा ५५, म्यान्मारमा ५० र कम्बोडियामा जम्मा ३३ प्रतिशत छन् ।

सबैभन्दा बढी भ्रष्टाचार नेपालमा

गएको १२ महिनामा भ्रष्टाचारको अवस्था परिवर्तन भएको मान्नुहुन्छ ?भन्ने प्रश्नमा ५८ प्रतिशतले भ्रष्टाचार बढेको छ भन्ने जवाफ दिएका छन् । यो नतिजा अनुसार सर्वेक्षणमा समेटिएका सबै देश मध्ये नेपालको अवस्था सबैभन्दा खराब हो ।

कम्बोडियामा १२, दक्षिण कोरियामा १७ र चीनमा २० प्रतिशतले मात्रै भ्रष्टाचार बढेको निष्कर्ष निकालेका छन् । जानकारहरूका अनुसार यो सर्वेक्षणको सबैभन्दा खराब पाटो नै यही हो ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष खेमराज रेग्मी भन्छन्, ‘प्रधानमन्त्रीले भ्रष्टाचारीको मुखसम्म हेर्दिन भनिरहनु भएका बेला एसिया १७ देश मध्ये नेपाल सबैभन्दा बढी भ्रष्टाचार बढेको मुलुक हुनु दुर्भाग्य हो ।’