Aafno Khabar

अपांगता भएका व्यक्तिहरुका लागि सार्वजनिक सुरक्षा विषयक भर्चुअल कार्यशाला

  • आफ्नो खबर
  • October 7, 2020 प्रकाशित

काठमाडौं । अतुल्य फाउन्डेसनले युएसएडको ‘तयार नेपाल’ परियोजनाको सहकार्यमा अपांगता भएका व्यक्तिहरुका लागि सार्वजनिक सुरक्षा विषयमा भर्चुअल कार्यशाला आयोजना गरेको छ ।

अपांगता भएका व्यक्तिहरुको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनको बारेमा जानकारीमुलक सामग्रीहरु तयार पार्नु यसको उदेश्य रहेको छ ।

भर्चुअल कार्यशालालाई सम्बोधन गर्दै अतुल्य फाउन्डेसनका अध्यक्ष पल्लव पन्तले अपांगता भएका व्यक्तिहरुको सुरक्षाका लागि विपद् जोखिम न्युनिकरणको आवश्यकता रहेको बताउनुभयो ।

यस परियोजनाको अन्त्यसम्ममा अपांगता भएका व्यक्तिहरुमा अपांगता समावेशी विपद् जोखिम न्युनिकरण विषयमा तालिम, अनुरकरण अभ्यास, सन्दर्भ सामग्रीहरु र एप तयार गरेर सचेतनाको तह वृद्धि हुने उहाँको भनाई छ ।

नेसनल एमरजेन्सी अपरेसन सेन्टरका प्रमुख मुरारी वस्तीले सरकारले सम्वन्धित निकायहरुको सहकार्यमा सुरु गरेको विपद् जोखिम न्युनिकरणका विभिन्न क्रियाकलापहरुका बारेमा जानकारी दिनुभयो ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका निराजन घिमिरेले अपांगता भएका व्यक्तिहरुको हकहितको सुरक्षाका लागि संवैधानिक प्रावधानहरु भएको स्पष्ट पार्दै मन्त्रालयले यस आर्थिक वर्षमा सञ्चालन गर्ने गतिविधिका बारेमा पनि जानकारी गराउनुभयो ।

अपांगता अधिकार र विकासका लागि क्रियाशील नेपालका कार्यकारी निर्देशक डा.वीरेन्द्रराज पोखरेलले परियोजनाले तयार पार्न लागेको मार्गदर्शन तथा अन्य सन्दर्भ सामग्रीहरु कानुनी तथा नीतिगत फ्रेमवर्कका आधारमा हुनुपर्ने औंल्याउनुभयो । कार्यशालामा सहभागीले परियोजनाको सफलताको कामना गरेका थिए ।

सम्बन्धित शीर्षकहरु