प्रतिकात्मक तस्बिर ।
काठमाडौं । चितवनमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । सोमबार मृत्यु भएका थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका उनीहरूको सोमबार अस्पतालमा केही घण्टाको फरकमा मृत्यु भएको थियो ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का ६५ वर्षीय पुरूष, भरतपुर महानगरपालिका–११ की १८ वर्षीया युवती र पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ की ५५ वर्षीया महिला रहेका छन् । उनीहरूमा ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।
त्यस्तै वीरगञ्जको अस्थायी कोरोना अस्पतालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–२० हरपतगञ्जका ५३ वर्षीय पुरुषको गयराति १२ः४५ मा मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । उनी टाईप टु मधुमेह र मिर्गौलाको समस्याबाट ग्रसित थिए ।
त्यस्तै सिरहाको मिर्चैया नगरपालिका–६ निवासी कोरोना संक्रमित एक पुरूषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ ।
एक साताअघि अस्पतालमा भर्ना भएका ६५ वर्षका पुरुषको सोमबार राति ९ बजेतिर मृत्यु भएको हो । उनी उच्च रक्तचाप र मधुमेहका विरामीसमेत रहेको अस्पतालले जनाएको छ ।