काठमाडौं । एक जना कोरोना संक्रमितले तीन हजार जनासम्म संक्रमण सार्न सक्ने सम्भावना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित कोरोना अपडेटका क्रममा यस्ताे जनाकारी गराउनु भएकाे हाे ।
कतिपय सङ्क्रमित आइसोलेशनबाट भाग्ने, होम आइसोलेशनमा बसेकाहरु बाहिर निस्किने जस्ता गुनासो आएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले परिवार, छिमेकी वा देशमा पर्ने समस्यालाई बुझी अनुशासित हुन सङ्क्रमित भएकाहरुलाई आग्रह गर्नुभयो ।
आज–भोलि कोरोना संक्रमणको दर बढिरहेकोले सर्वसाधारणलाई सरकारले तोकेको मापदण्ड अपनाएर आ–आफ्नो ठाउँमा बस्नको लागि डाक्टर गौतमले आग्रह गर्नुभयाे ।
सरकारले सिमित स्रोत र साधन लिएर यो असहज परिस्थिति सँग लडिरहेको छ । डाक्टर गौतमले भन्नुभयाे, ‘आफ्नो स्रोत–साधनले पुगेसम्मको राम्रो सेवा प्रदान गर्न खोज्दा खोज्दै पनि कतिपय बेलामा सर्वसाधारणको अपेक्षा पूरा नभएको हुन सक्छ ।’
यस्तै, प्रवक्ता गौतमले सम्बन्धित अस्पतालसँग समन्वय नगरी कोरोना सङ्क्रमित रेफर नगर्न पनि निर्देशन दिनुभएको छ ।