Aafno Khabar

बिहीबारदेखि उपत्यकामा दाेस्राे चरणकाे निषेधाज्ञा, थप कडाइ गरिने

  • आफ्नो खबर
  • August 27, 2020 प्रकाशित

काठमाडौं । बिहीबारदेखि काठमाडौं उपत्यकाभित्र दोस्रो चरणको निषेधाज्ञा सुरु भएको छ । यसअघि गरिएकाे निषेधाज्ञा बुधवार राति १२ बजेबाट सकिएको हाे । बुधबार नै उपत्यकाभित्रका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले एक साताको लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको थियो ।

काठमाडाैं उपत्यकामा तीव्र रुपमा काेराेना संक्रमित बढ्न थालेपछि निषेधाज्ञा गरिएकाे थियाे । तर पनि उपत्यकामा संक्रमण फैलिरहेकाे छ । दिनप्रतपदिन संक्रमित बढिरहेका छन् ।

निषेधाज्ञा अवधिमा पनि मानिसहरुकाे आवत जावत भइरहेकाेले संक्रमण फैलिरहेका कारण दोस्रो चरणको निषेधाज्ञा थप कडाइकासाथ कार्यान्वयन गराउने उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयहरुले जनाएका छन् ।

काठमाडाैंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भन्नुभयाे ‘सबैको सुझाव सल्लाह अनुसार नै दोस्रो पटको समय थप गरेका हौँ । पहिलो चरणमा कन्फ्युज भएका कुरा समधान गरेर कडाइका साथ निषेधाज्ञा कार्यान्वयन हुन्छ, ।’

प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार काठमाडाैं महानगरपालिका, नगरपालिका, उद्याेग, वाणिज्य, स्वास्थ्य मन्त्रालयलगायत सबैसँग सल्लाह गर्दा निषेधाज्ञा निरन्तर गर्नुपर्ने सुझाव पाइएकाले निषेधाज्ञा लम्बाइएकाे हाे । उहाँले भन्नुभयाे, ‘हामीले कडाइका साथ नियम पालना गराउने छाैँ । यसका लागि अनुगमन टाेली पनि खटाइएकाे छ ।’

नाकामा पनि अत्यावश्यक सवारी बाहेका अन्य सवारीको सङ्ख्या ह्वातै घटेको प्रमुख जिल्ला अधिकारीकाे दाबी छ । मनिसको आवागमन पनि ठप्प नै पारेकाे उहाँले बताउनुभयाे । ‘सबैकाे माग नै निषेधाज्ञा भएकाले यसपटककाे निषेधाज्ञा कडाइका साथ लागू हुनेछ ।’ उहाँले भन्नुभयाे ।