काठमाडौं । सरकारले लक्षणविहीन र सामान्य लक्षण भएका कोरोना सङ्क्रमित १४ दिनभन्दा अस्पताल नराख्न निर्देशन दिएको छ ।
मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले सबै कोभिड अस्पतालमा लक्षणविहीन र सामान्य लक्षण भएका बिरामीकाे १० दिनमा पीसीआर परीक्षण गरी डिस्चार्ज गर्न परिपत्र जारी गरेको हाे ।
१० दिनमा परीक्षण गर्दा पुनः पोजेटिभ देखिए १४ दिनमा परीक्षण नगरी डिस्चार्ज गर्न भनिएको छ । मन्त्रालयले संक्रमित व्यक्ति १४ दिनभन्दा बढी अस्पतालमा राखे त्यसको खर्च सरकारले नब्यहोर्ने जनाएको छ ।
लक्षणसहितका कोरोना सङ्क्रमितको संख्या दिनानुदिन बढ्न थालेसँगै सरकारले यस्तो निर्णय गरेको हो । लक्षण नभएका र सामान्य लक्षण भएका बिरामी हाेम आइसाेलेसनमा बस्न सरकारले आग्रह गरेकाे छ ।