काठमाडौं । काठमाडौं उपत्यकाभित्र एक साताको लागि लगाइएको निषेधाज्ञा बुधवार राति सकिनेछ । सरकारले लकडाउन खुला गरेपछि बढ्न थालेकाे काेराेना संक्रमितकाे ग्राफ अझै पनि कमी आएकाे छैन ।
सरकारले लकडाउन खुला गरेर अब पूर्ण रुपमा लकडाउन नहुने जनाए पनि परिस्थिति हेरेर लकडाउन अथवा निषेधाज्ञा गर्न स्थानीय तहमा अधिकार दिएकाे छ । देशका विभिन्न स्थानीय तहले अहिले निषेधाज्ञा, सिल, लकडाउन गरिरहेका छन् । काठमाडाैं उपत्यकामा पनि तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुकाे बैठकले निषेधाज्ञा गर्ने निर्णय गरेपछि गएकाे तीन गतेदेखि एक साताका लागि निषेधाज्ञा भइरहेकाे छ ।
काेराेना संक्रमितकाे संख्या बढिरहँदा उपत्यकामा निषेधाज्ञा अझै लम्बाउने निष्कषमा स्थानीय निकायका प्रमुखदेखि जनप्रतिनिधिसम्म पुगेका छन् ।
सोमबार बसेको काठमाडौं उपत्यका नगरपालिका मेयर फोरमले स्थानीय तहले दिने अत्यावश्यक बाहेकका सबै सेवा भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै, बैठकले उपत्यकामा काेराेना संक्रमण झनै फैलिएकाले निषेधाज्ञाको अवधि थप्ने निष्कर्षमा पुगेको हो ।
मंगलबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्ने तयारी भइरहेकाे छ । बैठकले उपत्यकाभित्र निषेधाज्ञा कति समयको लागि थप गर्ने भन्ने विषयमा निर्णय गर्न सक्ने स्राेतले बताएकाे छ । एक साता गरिएकाे निषेधाज्ञाकाे समीक्षा गरी अब थप्ने नथप्नेबारे छलफल गरिने बताइएकाे छ ।
याे पनि पढ्नुहाेस् ।
उपत्यकाका स्थानीय तहले दिने अत्यावश्यक बाहेकका सेवा भदौ १५ सम्मका लागि बन्द