काठमाडौं । काठमाडौ उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च भएसँगै सरकारले लामाे दूरीका सार्वजनिक यातायात सञ्चालन र आन्तरिक तथा बाह्य उडान भदौ १५ गतेसम्म रोक लगाउने निर्णय गरेको छ ।
सरकारले अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १६ गतेदेखि खोल्ने निर्णय गरेको हाे ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को सिफारिसअनुसार १ भदौबाट खुला गर्ने भनिएको क्षेत्र थप १५ दिन नखोल्ने निर्णय गरेको हो ।
कलकारखाना, उद्योग, निर्वाध रूपमा सञ्चालन भइ मजदुरहरूको दैनिक आवतजावत बढेकाले संक्रमणको जोखिम पनि बढेको हुनाले उद्योग तथा कलकारखानाभित्र क्वारेन्टाइनको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पुरा गरेपछि मात्रै सञ्चालन गर्न दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।
बैठकले सीमा नाकामा पनि अवैध आवतजावत जारी रहेको भन्दै थप कडाइ गर्ने निर्णय गरेको छ । साथै उपत्यका प्रवेश गर्ने नाकामा पनि कडाइ गर्ने निर्णय गरेको छ ।