आज जनै पूर्णिमा । जनै पूर्णिमाका दिन मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ । खेतीपातीका क्रममा थकित शरीरमा शक्ति प्रदान गर्न टुसा उमारिएको पौष्टिक तत्वयुक्त क्वाँटी खाइनुले यसलाई प्रकृतिसम्मत पर्वका रूपमा पनि लिइन्छ ।
यता श्रावण शुक्ल पूर्णिमाका अवसरमा तागाधारीले आजका दिन बिहानै नजिकैको नदी, तलाउ तथा कुण्डमा स्नान गरी आफ्ना गुरुबाट मन्त्रिएको जनै धारण गर्ने प्रचलन रहेको छ। हरेक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन छ । यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको छ ।
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामनअवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किम्वदन्तीसँग पनि रक्षाबन्धनको सम्बन्ध जोडिएको छ ।
यसैगरी यस दिन देह शुद्ध गरी देवता, सप्तऋषि (कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नी, वशिष्ठ र विश्वामित्र) तथा पितृहरूको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाई ऋषितर्पणीका नामले पनि चिनिन्छ ।
ज्ञान र सफल जीवन मार्गको शिक्षा दीक्षा गर्ने ऋषिहरूको सम्मानमा ऋषि तर्पणी गरी अभिमन्त्रित जनै धारण गरेर धार्मिक तथा पवित्र कार्य सम्पादन गरिन्छ । शास्त्रीय मान्यताअनुसार विशेष गरी तागाधारी (ब्राह्मण, क्षेत्री, वैश्य) ले वर्ष दिन वेद पढ्नुपर्ने र त्यसको साङ्गे (समाप्ति)को दिनका रूपमा जनै पूर्णिमालाई लिइन्छ । यस दिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा, विष्णु र महेश्वरको पूजा गरी जनै मन्त्रेर त्यसलाई धारण गर्ने प्रचलन छ ।
वैज्ञानिक दृष्टिबाट पनि जनै लगाउदा मानिस झनै स्वस्थ रहने पत्ता लागेको छ,यसले हृदय रोगको सम्भावनालाई कम गर्छ, चिकित्सा विज्ञानका अनुसार दाँया कानको नशा अण्डकोष र गुप्तेन्द्रिय सँग जोडिएको हुन्छ ।
हिन्दु धर्ममा जनैको विशेष स्थान छ तर अब यसका वैज्ञानिक कारणबारे पनि खोज अनुसन्धान गरिएको छ। हिन्दु धर्मालम्बीहरुमा ब्रतबन्ध सस्कार गरिसकेका पुरुषहरुले काधमा लगाउने गरेको धागोलाई जनै भनेर भन्ने गरिन्छ,देख्दा धागो जस्तो भएता पनि यसभित्र बैदिक बिधान अनुरुप प्रतिष्ठा गरेर शक्तिशाली बनाइएको हुन्छ,धागोमा बिभिन्न देवताहरुको आराधना गरेर अभिमंत्रण गरि सकेपछी त्यो जनै वा यज्ञोपवित बन्दछ।
शुध्द व्यक्तिले काटेको कपासको धागोलाई बिधान पुर्बक बाटेर छुट्टै किसिमले गाठो पारिएको हुन्छ,त्यस गाठोलाई शिखा भन्ने गरिन्छ,एउटा जनै वा यज्ञोपवितमा ३ डोरा हुन्छ, त्यो ३ दोरा भित्र पनि प्रत्यक डोरामा ९ वटा धागो हुन्छ जुन बेस्सरी बाटिएको हुदा सजिलै नदेखिन पनि सक्छ,यसलाई बिस्तारै केलाएर हेरेमा मात्र देखिन्छ,जसलाई तन्तु भनिन्छ,यसरि निर्माण गरिएको २ वटा जनै भए पछी १ जोर या न कि १ जनै बन्छ र त्यसलाई जनै पुर्णिमाको दिनमा बिधि पुर्बक अभिमंत्रण गरेर तन्तु देवता र शिखामा ब्रम्हा बिष्णु र महेश्वरको पूजा गरि ब्रम्ह सुत्र बनाइन्छ र धारण गरिन्छ, बिधिपूर्बक ब्रम्हसुत्र धारण गर्ने र ब्रम्ह कर्म गर्ने भएकोले पहिले देखिने ब्राह्मण भनेर नामकरण गरिएको हो ।
धार्मिक दृष्टिकोणबाट जनै धारण गर्नाले शरीर शुद्ध र पवित्र हुने मानिन्छ,जनै धारण गरेको व्यक्तिलाई कुनै पनि आसुरी शक्तिले आक्रमण गर्न सक्दैन। जुनसुकै धार्मिक कार्य गर्दा पनि पुरुषले जनै अनिबार्य धारण गरेको हुनु पर्दछ,बिना जनै गरिएको काम पुरा नहुने मात्र होइन बिपरित फल समेत दिन सक्ने हुन्छ। यसलाई हिन्दु धर्मको एउटा अनुशासनको कडी मान्न पनि सकिन्छ।
काधमा जनै लगाउनाले पेट सम्वन्धि रोग तथा रक्तचापको समस्याबाट बच्न सकिन्छ । यो पनि मानिन्छ कि शरीरको मध्यभागबाट पिठ्युमा जाने एक प्राकृतिक रेखाले विद्युत प्रवाहको काम गर्छ । यो रेखा दाँया काँधबाट कम्मरसम्म फैलिएको हुन्छ,त्यसैले जनै लगाउनाले विद्युत प्रवाह नियन्त्रित हुन्छ। जसको कारण क्रोधमा नियन्त्रण राख्न सजिलो हुन्छ।
हिन्दु दर्शनअनुसार जनैलाई ब्रह्मसूत्र अर्थात ज्ञानको धागो पनि भनिन्छ। जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानको प्रतिक मानिन्छ, सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामन अवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किम्वदन्तीसँग पनि रक्षाबन्धनको सम्बन्ध जोडिएको छ।
आजैको दिन भाइ र बहिनीबीचको अटुट प्रेमलाई दर्शाउने रक्षाबन्धन पर्व पनि मनाउने चलन रहेको छ। खास गरेर रक्षाबन्धन हिन्दू धर्मावलम्बीले मनाउने एउटा पवित्र पर्व हो । रक्षाबन्धन शब्दमा दुई वटा शब्द जोडिएको छ ‘रक्षा र बन्धन’ रक्षाको अर्थ भाइले बहिनीको रक्षा गर्ने वाचा दिन्छ भने बन्धन जसले भाइबहिनीको सम्बन्धमा अझ बढी माया, स्नेह, सामिप्य र प्रेम ल्याउँछ ।
रक्षाबन्धन पारिवारिक मेलमिलाप बढाउने पर्व पनि हो । यो अवसरमा परिवारका हरेक मानिस एक ठाउँमा जम्मा हुन्छन् । रक्षाबन्धनका अवसरमा बजारमा पनि विशेष चहल पहल हुन्छ । रङ्गीबिरङ्गी राखीले पसल सजेको छ ।
पौराणिक कथाअनुसार देवराज इन्द्र र दैत्यराज वृत्तासुरका साथ १२ वर्षसम्म भयङ्कर युद्ध चलेको थियो । यस युद्धमा असुरले देवतामाथि विजय प्राप्त गरेका थिए । पराजित देवगण धर्म एवं संस्कारविहीन भएर जीवनयापन गर्न लागे ।
यसरी गौरवहीन जीवनदेखि देवराज इन्द्रले बाँच्नुभन्दा मर्नु नै श्रेयस्कर सम्झेर असुरसँग अन्तिम युद्ध गर्ने सङ्कल्प लिन्छन् । त्यो दिन श्रावण शुक्ल चतुर्दशीको दिन थियो । अतः देवगुरु वृहस्पतिले अघिल्लो दिन इन्द्रको कल्याण एवं विजय कामना होस् भनी श्रावणमासको पूर्णिमाको शुभमुहूर्तमा इन्द्रलाई रक्षाबन्धन बाँधेर बल प्रदान गरेका थिए ।