Aafno Khabar

सिन्धुपाल्चोककी महिलाको कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयको पुष्टि

  • May 16, 2020 प्रकाशित

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड १९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।

कोरोना संक्रमण देखिएकी महिलाको धुलिखेल अस्पतालमा निधन

उनको १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो । आमाछोरा दुबैको स्वास्थ्य सामान्य थियो र उनीहरू २५ गते डिस्चार्ज भएर घर फर्किएका थिए ।

तर उनलाई ज्वरो र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आएपछि बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्दा पनि निको नभएपछि धुलिखेल अस्पताल ल्याउने क्रममा बाटैमा निधन भएको थियो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको बताएकाले उनकोलिखेल अस्पतालमा पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि उनको रिपोर्ट पोजेटिभ नै आएको हो । यद्यपि उनको मृत्यु कोरोनाकै कारण भएको घोषणा गर्नुपूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नै अध्ययन टोली धुलिखेल अस्पतालमा पठाएको थियो ।

टोलीको रिपोर्टका आधारमा मन्त्रालयले उनको मृत्यु कोरोनाका कारण भएको घोषणा गरेको छ ।

यसैबीच मृतकको घर र माइती गाउँलाई सिल गरिएको छ । मृतकको घर बाह्रबिसे नगरपालिका ९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ लाई सिल गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार माइती गाउँबाट आफन्तहरु भेट्न गएकाले गाउँ पनि सिल गरिएको हो । सिल गरिएका वडाबाट कोही व्यक्ति बाहिर आउन र वडाभित्र प्रवेश गर्न पाउने छैनन् ।

जिल्लाको कोभिड १९ विपद व्यवस्थापन केन्द्रले त्यस क्षेत्रका वासिन्दालाई घरबाहिर निस्कन नदिने आग्रह गरेको छ । साथै सिल गरिएको क्षेत्रमा सेना र प्रहरी परिचालन गरिएको छ ।

यस्तै मृतकको हालै स्वास्थ्य जाँच गराएको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र पनि सिल गरिएको छ । उनको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक ट्रेसिङ गरी पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने र क्वारेन्टाइनमा राख्ने पनि निर्णय भएको छ ।