मुलुकमा व्याप्त असन्तुष्टि र निराशा चरम चुलीमा पुगेपछि देशमा विद्रोह, भ्रष्टाचार र बेथितिविरुद्धको अभिमत तयार हुँदै गर्दा भदौ २३ र २४ गते जेनजी पुस्ताको नेतृत्वमा आन्दोलन भयो l आन्दोलनमा भएको जनधनको क्षति अझै पनि सबै नेपालीको मानसपटलमा तरोताजा छ l
आफ्ना आफन्तजन र देशका युवा गुमाएको पिडा अझै धेरैले भुल्न सकेका छैनौँ l तर समय परिवर्तनशील छ, देशमा नयाँ चुनावी सरकार गठन भए सँगै देशमा निर्वाचन कै चर्चा छ l यस पटकको निर्वाचन अर्थपूर्ण पनि छ, अबको निर्वाचनबाट चुनिने नेतृत्वले वर्षौँ देखिको अस्थिरता, असमानता, अराजकताको अन्त्य गर्दै हालसम्मका सबै आन्दोलन र विद्रोहका जनभावनालाई सम्बोधन गरे मात्रै कयौँ वीर सहिदको सही अर्थमा सम्मान हुनेछ र देश उन्नति तर्फ लम्कन सक्नेछ l
निर्वाचनबाट सही नेतृत्व चुनिन दलहरू मार्फत वा स्वतन्त्र ढङ्गले उठेका सही उमेद्वारलाई जिताउनु सबै जनताको हातमा छ र हितमा पनि l यस्तो अवस्थामा देशमा रहेका र देशले अवसर नदिएको अवस्थामा भविष्य सुरक्षित गर्न देश र आफ्नो परिवार कष्टसाथ छोडेर बिदेशिएका प्रवासी सबै नेपाली अब एकजुट हुनुपर्ने समय आएको छ l देशलाई माया गरेर टाढा पुगेकालाई पनि राष्ट्र निर्माणको प्रक्रियामा फर्कने वातावरण सिर्जना नहुने हो भने अबको पुस्ताको ठुलो हिस्सा देशमा फर्कने छैन l यही बोधका बीच राष्ट्रिय स्वतन्त्र पार्टीले विदेशमा रहेका नेपालीलाई फर्केर राष्ट्र सेवामा संलग्न हुन प्रेरित गर्ने स्पष्ट नीतिगत सङ्केत दियो।
योग्य र इच्छुक नेपालीलाई फर्कन वातावरण बनाउने, र त्यसका लागि आसन्न प्रतिनिधिसभा निर्वचनमा समानुपातिक प्रणालीभित्र १० प्रतिशत स्थान सुनिश्चित गर्ने निर्णय गर्यो। यो कुनै सुविधा मात्र थिएन, यो पार्टीले पहिलो पटक नेपाली नागरिकलाई “फर्क” भनेर गरेको सम्मानजनक आह्वान पनि थियो l यही आह्वानले किशोर गन्धर्वको जीवनमा पनि निर्णायक मोड ल्यायो। सन् २०२१ मा विश्व प्रसिद्ध जर्मन छात्रवृत्ति सहित वन विज्ञानमा स्नातकोत्तर तहको शिक्षा हासिल गर्ने उद्देश्यसहित जर्मनीको गोटिङगेन पुगेका गन्धर्व सधैँ व्यक्तिगत महत्त्वाकाङ्क्षा, विदेशी सुख सयल भन्दा पनि देश प्रतिको उत्तरदायित्व सम्झिरहन्थे l
तनहुँ जिल्लाको एउटा सामान्य परिवारमा जन्मिएका किशोर, गन्धर्व समुदायको प्रतिनिधि हुन् l गन्धर्व जाति नेपालका १२५ जाति मध्ये एक हो l वि.सं. २०७९ सालको जनगणना अनुसार गन्धर्व जातिको जनसङ्ख्या ६ हजार सात सय ९१ मात्र छ । यो एउटा यस्तो समुदाय, जसले नेपाल राष्ट्र एकीकरण देखि गणतन्त्र स्थापना सम्म निरन्तर इतिहासभर योगदान दियो, तर नीति निर्माणको टेबलमा आफ्नो स्थान कहिल्यै पाएको छैन l निरन्तरको योगदान तथा समाजमा निरन्तर खबरदारी गर्ने यस समुदायको कसैलाई जातीय वा समावेशिताको आधारमा सांसद बनाउँदा पनि देशलाई हित नै हुनेछ तर किशोर त्यस्तो सहज बाटो मात्र चाहँदैनन् l
समावेशिता सहित योग्यता, पारदर्शी र न्यायिक छनौट विधिबाट उम्मेदवार वा प्रतिनिधि छनोट हुनपर्छ भन्ने धारणा र छनोट का प्रत्येक चरणमा आफ्नो बलियो प्रस्तुति दिने आँट र क्षमता पनि छ किशोरमा l उमेरले युवा र सोचले विज्ञ किशोर गन्धर्व, वन विज्ञान, वन व्यवस्थापन तथा संरक्षण, जैविक विविधता संरक्षण, जलवायु परिवर्तन, विपद् न्यूनीकरण तथा व्यवस्थापन, लैङ्गिक समानता तथा समावेशीकरण र एकीकृत योजना तर्जुमा तथा विकास को क्षेत्रमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी क्षेत्रमा आधा दशकको कार्य अनुभव र दक्षता हासिल गरेका छन् ।
विशेषतः प्रमाणमा आधारित नीति निर्माण, प्रमाणमा आधारित विकास, प्रमाणमा आधारित सुधार र रूपान्तरण उनका मुख्य एजेन्डा हुन्। प्रवासी नेपाली भएको र वन विज्ञानको विज्ञ भएका कारण पनि सांसदको रूपमा Reverse Migration Architecture र Wood to Wallet लाई नीतिगत रूपमा कार्यान्वयन गर्ने उनको दृढ सङ्कल्प रहेको छ । हजारौँ युवाले आज विदेशबाट हेरेर एउटै प्रश्न गरिरहेका छन्-“फर्किएर के गर्ने?” भनिरहेको सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवासी फर्काउने अभियानमा होमिएर किशोर त्यसको उत्तर दिन थालेका छन्-फर्केर शासन सुधार्ने, नीति निर्माण गर्ने, र देशको प्रणाली र अवस्था बदल्ने।
किशोर विदेशमा रहेका नेपालीसँगको पटक पटकको आफ्नो संवादको निष्कर्ष सुनाउँछन् “यदि देशले योग्य युवालाई फर्कन ढोका खोल्छ भने, देश छोड्नु बाध्यता रहँदैन” । “अब आफ्ना सन्तानलाई बाहिर पठाएर होइन, फर्काएर समृद्ध बन्न सक्छ“ भन्ने विचार बाट नै आफूमा राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक निर्वाचन प्रणालीका उम्मेदवार बन्ने अठोट उत्पन्न भएको उनी सुनाउँछन् l युवा किन बाहिरिए, अवसर किन सधैँ थोरै हातमा सीमित रह्यो, र राज्य किन आफ्ना नागरिकको जीवनमा भरोसाको रूपमा उभिन सकेन।
यी प्रश्नको उत्तर खोज्दै आफूले अध्ययन, काम र जीवनको सहज बाटोभन्दा कठिन तर अर्थपूर्ण बाटो रोजेको उनी बताउँछन् । विदेशमा बसेर आफूले सिकेको मुख्य कुरा समृद्धि केवल पैसाले होइन, संस्थागत इमानदारीले बन्दछ भन्ने रहेको पनि किशोर बताउँछन् l जर्मनी (१९४५ पछि) दोस्रो विश्वयुद्धमा पराजय हुँदा संविधान, संसद् र प्रशासन सबै ध्वस्त भए पनि आजको दिनमा विकसित भैसकेको जर्मनीमा केही वर्ष बिताएपछि, यदि नेपालले अब विकासको नयाँ मोडल रोज्नुपर्छ भने, त्यो नारा मात्र होइन, नीति, जबाफदेहिता र युवाको सक्रिय भूमिकाबाट सुरु हुनुपर्ने र यही विश्वासका साथ आफू जिम्मेवारीका लागि अघि बढेको पनि उनी बताउँछन् l
देशमा तमाम समस्याको निकास अब देश भित्र वा बाहिर रहेका दक्ष र सक्षम नागरिकको सामूहिक प्रयासहरू बाट मात्र सम्भव रहेको उनको बुझाई छ र आफ्नो यस कदममा सबैको साथ र सहयोगको उनी अपेक्षा गर्दछन् l
देशमा विभिन्न युवा शक्ति र वैकल्पिक शक्तिहरू एकजुट भएर अघि बढ्ने सम्भावनाबारे छलफल भैरहदा देश बाहिर रहेका किशोर गन्धर्व जस्ता सक्षम युवाहरू पनि देश फर्कनुपर्छ भनेर पनि छलफल चलाएर उनीहरूलाई सहज वातावरण बनाउन ढिलो भैसकेको छ l