काठमाडौं — जीवनका यात्रामा जत्तिकै सशक्त साथीयात्रा निभाइरहेका गायक राजु ढकाल र गायिका देवी घर्ती संगीतको क्षेत्रमा पनि प्रेरणादायी युगलको रूपमा स्थापित छन्। थोरै युगल गीत सार्वजनिक गरे पनि उनीहरूका प्रस्तुति सधैं दर्शक–श्रोतामाझ गहिरो छाप छाड्न सफल भएका छन्। यसको पछिल्लो उदाहरण हो, हालै सार्वजनिक भएको युगल गीत ‘झलिको सलल’।
प्रेमभावमा आधारित यस गीतमा नविन रानाको शब्द, एचबिएन किस्मतको संगीत र एरेन्ज रहेको छ। देवी घर्ती मगरको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको ‘खोली सलल’ गीतले छोटो समयमा नै लोकप्रियता हासिल गरेको छ। १६ लाख भन्दा बढी पटक हेरिएको यो गीत दर्शकले ‘जति सुने पनि नअघाउने’ भन्दै सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया जनाएका छन्।
गीतको भिडियोमा राजु ढकाल र देवी घर्ती आफैंले अभिनय र नृत्य गरेका छन् भने निर्देशन, कथा तथा कोरियोग्राफी जेरी भण्डारीले सम्हालेका छन्। भिडियोमा मायालु सम्बन्धभित्रका भावनात्मक उतारचढावलाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ।
‘खोली सलल’ ले केवल मनोरञ्जन मात्र नभई, राजु र देवीको सांगीतिक जोडीलाई दर्शकसामु अझ प्रगाढ रूपमा प्रस्तुत गर्न मद्दत गरेको छ।