सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्काई नियमित पठनपाठनको वातावरण सुनिश्चित गर्न सरकारलाई अन्तरिम आदेश जारी गरेको छ। अधिवक्ता श्रवणकुमार चौधरीसहितले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश डा. नहकुल सुवेदीको एकल इजलासले यस्तो आदेश दिएको हो।
अदालतले बालबालिकालाई नियमित पढ्न पाउने हकबाट वञ्चित गरिनु नहुने भन्दै विद्यालय तहको पठनपाठन यथाशीघ्र सञ्चालनमा ल्याउनुपर्ने उल्लेख गरेको छ। आदेशमा आन्दोलनरत शिक्षकहरूको जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्न सरकार र सम्बन्धित निकायले आवश्यक निर्णय लिनु पर्ने भनिएको छ।
साथै, आदेशमा तीन दिनभित्र विद्यालय फर्किने वातावरण तयार पार्न निर्देशन दिइएको छ। “आदेश प्राप्त भएको मितिबाट ३ दिनभित्र शिक्षकलाई विद्यालयमा फर्काएर नियमित पठनपाठन सुनिश्चित गर्नू,” आदेशमा भनिएको छ।
न्यायालयले कक्षा १२ को बोर्ड परीक्षा समयमै सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउँदै लाखौं विद्यार्थीको भविष्य अन्योलमा पार्ने काम नगर्न पनि निर्देशन दिएको छ।