काठमाडौं – प्रमुख सत्तारूढ दल नेकपा एमालेले काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको तोडफोड र विध्वंशलाई “अराजकता” को संज्ञा दिएको छ। सोमबार बसेको पार्टी सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले पत्रकारहरूलाई जानकारी दिँदै उक्त घटनाको प्रत्यक्ष जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताए।
ज्ञवालीका अनुसार नयाँ वर्ष २०८२ को अवसरमा पूर्वराजाले दिएको सन्देशमा राजनीतिक आशय लुकेको देखिएको छ। “पूर्वराजाको अभिव्यक्तिमा अझै पनि राजतन्त्र फर्किने आशा जीवित रहेको देखिन्छ,” उनले भने।
उनले चैत १४ गते पूर्वराजाले “कमान्डर” तोकेको कुरा उल्लेख गर्दै चैत १५ गतेको घटनाका लागि उनी प्रत्यक्ष जिम्मेवार भएको जिकिर गरे। “पूर्वराजाले म अगाडि बढिसकेको छु भनेर घोषणा गर्नु, अनि घटनाको अघिल्लो दिन नेतृत्व तोक्नु, त्यसपछि भएको अराजकताबाट पन्छिन नमिल्दैन,” ज्ञवालीले भने।
पूर्वराजाले चैत १५ को घटनालाई जनताको जागरण भनेकोमा आपत्ति जनाउँदै ज्ञवालीले भने, “सर्वसाधारणको घर तोडफोड गर्नु, सरकारी कार्यालयमा क्षति पुर्याउनु, र पार्टी कार्यालयमा आगजनी गर्नु जागरण होइन, त्यो अराजकता हो।”
ज्ञवालीले अहिलेको सरकारमाथि जवाफदेहीको माग भइरहँदा, पूर्वराजा ज्ञानेन्द्रले शासन गरिरहँदा जनताको अधिकार खोसिएको समय स्मरण गर्नुपर्ने बताए। उनले गणतन्त्र ल्याउनुको कारण निरंकुशता र सम्झौता उल्लंघन भएको बताए।
अन्त्यमा, उनले मुलुकले लोकतान्त्रिक गणतन्त्रको बाटो समातिसकेको भन्दै पूर्वराजालाई पछाडि फर्किने सोचबाट टाढा रहन आग्रह गरे।