काठमाडौं – अमेरिकामा गैरकानुनी रूपमा बसोबास गर्दै आएका थप पाँच जना नेपालीलाई अमेरिकी अध्यागमन निकायले नेपाल निष्कासन गरेको छ।
निष्कासनमा परेका नेपालीहरू क्रमशः वाग्ले, मल्ल, भट्टराई, ओली र ढकाल थर भएका छन्। स्रोतका अनुसार वाग्लेलाई टर्किस एयरलाइन्समार्फत पठाइएको हो भने बाँकी चारजनालाई एयर इन्डियाको उडानबाट काठमाडौं फर्काइएको छ। ती सबै यसै साता काठमाडौं अवतरण गरेका थिए।
‘उनीहरूलाई अमेरिकी अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा डीपोर्ट गरिएको हो,’ स्रोतले जानकारी दियो, ‘अमेरिकाले गैरकानुनी रूपमा बसोबास गरिरहेका नेपालीहरूको पहिचान गरी लगातार फिर्ता पठाउने काम गरिरहेको छ।’
यसअघि पनि अमेरिका सरकारले ८ जना नेपालीलाई निष्कासन गरेको थियो। तीमध्ये बुढा, पुन, सेन, चौधरी, खड्का, सुवेदी, पुन मगर र पाठक थरका व्यक्तिहरू थिए। केही समयअघि त अमेरिकाले ११ जना नेपालीलाई विमान चार्टर गरेर समेत नेपाल पठाएको थियो।
अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेसँगै आप्रवासन नीतिमा कडाइ गरिएको हो। उनले कार्यकारी आदेशमार्फत अवैध रूपमा बसोबास गर्ने आप्रवासीहरूमाथि धरपकडलाई तीव्र बनाएका थिए, जसको प्रभाव अहिले पनि देखिएको छ।