Aafno Khabar

त्रिभुवन विमानस्थलको मर्मत कार्य उडान नरोकिकन सञ्चालन गरिने

  • आफ्नो खबर
  • March 27, 2025 प्रकाशित

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मतका लागि अब विमानस्थल बन्द गर्न नपर्ने भएको छ। हाल राति पूर्ण रूपमा उडान अवरुद्ध गरी मर्मत गरिँदै आए पनि आगामी चैत १९ (अप्रिल १) बाट कुनै पनि उडान रोक्न नपर्ने विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए।

धावनमार्गभन्दा बाहिरको ट्याक्सीवे मर्मत कार्य उडान अवतरणलाई प्रभावित नगरी नै सञ्चालन गरिनेछ। विमानस्थल कार्यालयका अनुसार आगामी अप्रिलदेखि समर सेड्युल लागू भएसँगै बिहान ६ बजेदेखि राति १२ बजेसम्म विमानस्थल सञ्चालन हुनेछ, जसले दैनिक १८ घण्टा उडानको व्यवस्था सुनिश्चित गर्नेछ। यसअघि बिहान ३ बजेसम्म उडान भइरहेकाले नयाँ तालिकाले तीन घण्टा समय व्यवस्थापन सहज बनाउने जनाइएको छ।

ट्याक्सीवे मर्मतका लागि झन्डै डेढ देखि दुई वर्ष लाग्ने भए पनि यस क्रममा उडान अवतरण रोकिने छैन। समर सेड्युल लागू भएपछि गत वर्षको तुलनामा यो वर्ष उडान सङ्ख्या वृद्धि हुने अनुमान गरिएको छ।

यसैबीच, आगामी समर सेड्युलदेखि नेपालमा दुई नयाँ अन्तर्राष्ट्रिय वायुसेवा थपिने भएका छन्। एयर इण्डिया एक्सप्रेस र स्पाइसजेटले नेपाल उडानका लागि अनुमति पाएका छन्। स्पाइसजेटले कोभिड–१९ अघि नियमित रूपमा नेपाल उडान गर्दै आएकोमा अब पुनः नियमित सेवा पुनः सञ्चालन गर्नेछ। एयर इण्डिया एक्सप्रेस भने पहिलो पटक नेपाल उडान गर्न लागेको हो।

त्यस्तै, हाल सातामा चार उडान गर्दै आएको क्याथे प्यासिफिक एयरलाइन्सले अब सातै दिन उडान गर्ने तयारी गरेको छ। विमानस्थल व्यवस्थापन पक्षले मौसम अनुकूल रहेमा उडान अवतरणमा कुनै समस्या नहुने विश्वास व्यक्त गरेको छ।