काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले संवेदनशील क्षेत्रहरूमा दुई महिनाका लागि निषेधाज्ञा जारी गरेको छ। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति विशिष्ट व्यक्तिहरूको निवास तथा प्रमुख प्रशासनिक केन्द्रहरूमा पाँच जनाभन्दा बढी भेला भएर अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा गर्न रोक लगाइएको छ।
निषेधाज्ञा लागू गरिएका क्षेत्रहरूमा शीतलनिवास (राष्ट्रपति कार्यालय), उपराष्ट्रपति कार्यालय (लैनचौर), सिंहदरबार, प्रधानमन्त्री निवास (बालुवाटार) र संसद् भवन (नयाँ बानेश्वर) आसपासका क्षेत्र समावेश छन्।
शीतलनिवास क्षेत्रअन्तर्गत उत्तरतर्फ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडि, पूर्व-दक्षिणतर्फ सामाखुसी मोडदेखि १०० मिटर दक्षिणसम्म तथा पश्चिमतर्फ सामाखुसी खोलासम्म निषेधाज्ञा लागू गरिएको छ। उपराष्ट्रपति कार्यालय क्षेत्रको केशरमहल चोकदेखि मल्ल होटलसम्मको क्षेत्र पनि निषेधित क्षेत्रभित्र पर्छ।
सिंहदरबार क्षेत्रमा पूर्वतर्फ सिंहदरबार मूलगेट, पद्मोदय मावि मोड, महालेखा परीक्षक कार्यालय अगाडि, अनामनगर जाने मोड, हनुमानस्थान मन्दिर क्षेत्र, सर्वोच्च अदालत, पुरातत्व विभाग चोक, जिल्ला अदालत र प्रशासन कार्यालय अगाडि निषेधाज्ञा लागू गरिएको छ।
बालुवाटार क्षेत्रमा नेपाल राष्ट्र बैंक, इटालिया चोक, राष्ट्रियसभा अध्यक्षको निवास, प्रधानन्यायाधीश निवास र गैह्रीधारा जाने सडक आसपास निषेधित क्षेत्र तोकिएको छ। त्यस्तै, संसद् भवन नयाँ बानेश्वर वरपरको क्षेत्र, संसद् भवन दक्षिणपूर्वी मोडदेखि ३०० मिटर दूरीसम्म तथा बानेश्वर चोकदेखि पश्चिम ३०० मिटर भित्र निषेधाज्ञा जारी गरिएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार आइतबारदेखि लागू भएको निषेधाज्ञा दुई महिनासम्म प्रभावी रहनेछ।