Aafno Khabar

उत्तर प्रदेशमा गाडी दुर्घटना: कुम्भ मेलाबाट फर्केका तीन नेपालीको ज्यान गयो

  • आफ्नो खबर
  • February 17, 2025 प्रकाशित

भारतमा जारी कुम्भ मेलाबाट फर्किरहेका नेपाली तीर्थयात्री सवार गाडी दुर्घटनामा पर्दा तीन जनाको मृत्यु भएको छ। रुपन्देहीको देवदहबाट तीर्थ यात्रा गर्न गएका श्रद्धालु सवार गाडी उत्तर प्रदेशको आजमगढ-वाराणसी सडकखण्डमा डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ, जसमध्ये तीन जना नेपाली नागरिक रहेका छन्। निधन हुनेमा देवदह नगरपालिका वडा नं. ९ की ४५ वर्षीया गणेश खनाल, उनकी ३५ वर्षीया श्रीमती दीपा खनाल र ४० वर्षीया गीता शर्मा रहेका छन्।

घटनामा देवदह भलुहीकी कोपिला पोखरेल, उनका छोरा सुभम पोखरेल, आविष्कार पराजुली, यमकला देवी मगर तथा भारतीय नागरिक सवारी चालक रितेश दुबे घाइते भएका छन्। प्रारम्भिक उपचारपछि घाइतेहरूलाई थप उपचारका लागि गोरखपुर रेफर गरिएको छ।

भारतीय नम्बर प्लेट युपी ५३ एफडी ४२८८ भएको गाडी डिभाइडरमा ठोक्किएर अनियन्त्रित भएको थियो। भारतीय सञ्चारमाध्यमका अनुसार चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।