Aafno Khabar

बेलुन विस्फोटबाट घाइते अर्थमन्त्री पौडेल र मेयर आचार्यको उपचार जारी

  • आफ्नो खबर
  • February 15, 2025 प्रकाशित

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीका अनुसार उनीहरूलाई ५-६ प्रतिशत जलन भएको छ, विशेषगरी अनुहारमा जलन गएका कारण उच्च निगरानीमा राखिएको छ। अनुहारको जलनले स्वासनली र फोक्सोमा असर पार्न सक्ने सम्भावना रहेकाले चिकित्सकहरू अतिरिक्त सावधानी अपनाइरहेका छन्।

उनको उपचारमा प्रा.डा. वि.डी. झा, डा. प्रविण गिरी, प्रा.डा. शंकर मान राई, डा. विशाल कार्की, डा. मनिष यादव, र डा. प्रयुस अर्याल संलग्न छन्। साथै, नर्सिङ टोलीमा रिना गौचन, निर्मला कुँवर, र तृष्णा महर्जन खटिएका छन्।

शनिबार बिहान पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष’ उद्घाटन कार्यक्रममा बेलुन पड्किँदा उनीहरू घाइते भएका थिए। प्रारम्भिक उपचारपछि उनीहरूलाई काठमाडौं ल्याइएको थियो, जसमा अर्थमन्त्री पौडेललाई सिम्रिक एयरको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो।