Aafno Khabar
add khanepani

महिलाहरूले कुन उमेरसम्म ‘आईभीएफ’मार्फत् बच्चा जन्माउन सक्छन्

  • आफ्नो खबर
  • August 17, 2024 प्रकाशित

यसै साता ५२ वर्षीया एक महिलाले आईभीएफ (इन भिट्रो फर्टिलाइजेसन)मार्फत् काठमाण्डूस्थित एक निजी अस्पतालमा एक छोरालाई जन्म दिइन्।

उनको उपचारमा संलग्न आईभीएफ विशेषज्ञ डाक्टर नूतन शर्माका अनुसार विवाहको २८ वर्षसम्म गर्भधारण गर्न नसकेकी ती महिलाले महिनावारी रोकिएको चार वर्षपछि बच्चा जन्माएकी हुन्। ती महिलाका श्रीमान् ६१ वर्षका छन्।

“विवाह समयमै भए पनि धेरै वर्षसम्म बच्चा नभएपछि उनीहरू आएका थिए, पहिलो प्रयासमै गर्भधारण भएर बच्चा भयो,” बीएन्डबी आईभीएफ सेन्टरकी निर्देशकसमेत रहेकी डाक्टर शर्माले भनिन्।

नेपालमा यसअघि ५६ वर्षकी महिलाले पनि आईभीएफमार्फत् नै बच्चा जन्माएकी थिइन्।

पछिल्लो समय खासगरी बढ्दो उमेरका कारण हुने बाँझोपन वा पुरुषको शुक्राणु कम भएर गर्भधारण हुन नसकेका दम्पती आईभीएफ प्रविधिको सहायताले बच्चा जन्माउन आउने गरेको चिकित्सकहरू बताउँछन्।

उमेर बढ्दै जाँदा आईभीएफ विधि प्रयोग गरे पनि गर्भधारण गर्न किन कठिन हुन्छ?

जबाफमा डाक्टर शर्मा भन्छिन्, “उमेर पुगिसकेपछि पाठेघर रिसेप्टिभ (ग्रहणशील) हुन्न, कतिलाई मधुमेह, थाइराइड भएको हुन्छ अरूलाई अरू किसिमका रोगहरू लागिसकेको हुन्छ, त्यसैले उमेर बढ्दै जाँदा बच्चा पाउने काम गाह्रो बन्दै जान्छ।”

गर्भाधानको आईभीएफ विधि करिब ४६ वर्ष अघि सन् १९७८ मा सुरु भएको थियो।

त्यति बेला लेस्ली ब्राउन नाम गरेकी एक महिलाले विश्वको पहिलो टेस्ट ट्यूब बेबीलाई जन्म दिएकी थिइन्।

युगान्डाकी ७० वर्षीया सफिना नामुकवाईले पनि आईभीएफ प्रविधिबाटै जुम्ल्याहा बच्चा जन्माएकी छन्।

अफ्रिकी महादेशमा बच्चा जन्माउने सबैभन्दा वृद्ध महिलामध्ये सफिना एक हुन्।

अफ्रिका मात्रै नभई विश्वका थुप्रै ठाउँमा उमेर पुगिसकेका दम्पतीले आईभीएफ प्रयोग गरेर सन्तान जन्माउने क्रम बढेको चिकित्सकहरू बताउँछन्।

कुन उमेरमा आईभीएफले राम्रो काम गर्छ ?

आईभीएफ प्रक्रियाले कति सफलतापूर्वक काम गर्छ भन्ने कुरा महिलाको उमेर र उसको बाँझोपनको कारणमा निर्भर गर्ने बताइन्छ।

कम उमेरका महिलाहरूमा सफल गर्भधारण गर्ने सम्भावना बढी हुन्छ।

आईभीएफ प्रक्रिया सामान्यतया ४३ वर्षभन्दा बढी उमेरका महिलाहरूको लागि सिफारिस गरिएको छैन।

किनभने त्यो उमेरपछि सफल गर्भधारणको सम्भावना निकै कम मानिन्छ।

तर त्योभन्दा बढी उमेरका दम्पतीको सन्तान चाहने इच्छालाई पनि सम्मान गरिनुपर्ने कतिपय तर्क गर्छन्।

न्याश्नल इन्स्टिच्यूट फर हेल्थ एन्ड केयर एक्सिलेन्स (एनआईसीई) को फर्टिलिटी गाइडलाइनअनुसार ४३ वर्षभन्दा कम उमेरका महिलालाई आईभीएफ दिनुपर्छ।

सन् २०१९ मा बेलायतमा सफल आईभीएफ प्रक्रियाको प्रतिशत अर्थात् जीवित जन्महरू यस प्रकार छन्:

  • ३५ वर्षभन्दा कम उमेरका महिलाहरूको लागि, ३५ प्रतिशत
  • ३५ देखि ३७ वर्ष उमेर समूहका महिलाका लागि २५ प्रतिशत
  • ३८ देखि ३९ वर्ष उमेर समूहका महिलामा १९ प्रतिशत
  • ४० देखि ४२ वर्ष उमेर समूहका महिलामा ११ प्रतिशत
  • ४३ देखि ४४ वर्ष उमेर समूहका महिलामा पाँच प्रतिशत
  • ४४ वर्षभन्दा माथिका चार प्रतिशत महिला

यो आँकडा आफ्नै अण्डा र साथीको शुक्राणु प्रयोग गर्ने महिलामा भ्रूण स्थानान्तरणको दरमा आधारित थियो।

साथै स्वस्थ वजन कायम राख्नुका साथै उपचारको क्रममा रक्सी, धूम्रपान र क्याफिनबाट टाढा रहनुले आईभीएफको माध्यमबाट बच्चा जन्माउने सम्भावना बढाउन सक्छ।

नेपालमा भने आईभीएफ गरेर गर्भधारण गर्ने सफलता दर ७० प्रतिशतसम्म रहे पनि घरमा स्वस्थ बच्चा लिएर ५० प्रतिशत दम्पती जाने गरेको आफ्नो अनुभव रहेको डाक्टर नूतनले बताइन्।

-Source BBC