Aafno Khabar
add khanepani

प्रधानमन्त्रीको आग्रह पछि तमिम इक्बालले फिर्ता लिए सन्यासको घोषणा

  • आफ्नो खबर
  • July 8, 2023 प्रकाशित

बंगलादेशका एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट टोलीका कप्तान तमिम इक्बालले एक दिनमै सन्यासको घोषणा फिर्ता लिएका छन् । उनले गत बिहीबार अफगानिस्तानसँगको एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज चलिरहँदा अस्वाभाविक रुपमा क्रिकेटको सबै फम्यार्टबाट तत्कालै लागु हुने गरी राजीनामा दिएको बताएका थिए ।

उनले विश्राम लिने सही समय आएकोसमेत उल्लेख गरेका थिए । तर लगत्तै बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँगको भेटपछि उनी सन्यास घोषणाबाट पछि हटेका हुन् । प्रधानमन्त्री हसिनासँग लामो समयको अन्तरक्रिया पछि आफूले निर्णय उल्ट्याउने निष्कर्षमा पुगेको जनाएका छन् ।

आफूले सबैलाई अस्वीकार गर्न सकेपनि देशको सबैभन्दा महत्वपूर्ण व्यक्तित्वलाई अस्वीकार गर्न नसकिने उनको भनाइ छ । प्रधानमन्त्री हसिनाले उनलाई क्रिकेटमा फर्किन आग्रह गरेको बताउँछन् । बंगलादेशले अफगानिस्तानसँग कमजोर ब्याटिङ प्रदर्शन गर्दै १ सय ६९ रन मात्र बनाएको थियो ।

पराजय लगत्तै उनले पत्रकार सम्मेलन आयोजना गर्दै उक्त दिनको खेल आफ्ना लागि अन्तिम रहेको बताएका थिए । पत्रकार सम्मेलनमा निकै भावुक देखिएका उनी अन्तर्राष्ट्रिय क्रिकेट करियर अन्त्य गरेको घोषणा गर्दैगर्दा निकैबेर रोएका थिए । त्यसपछि उनको आलोचनासमेत भएको थियो।

बंगालदेशको क्रिकेट बोर्ड अध्यक्ष नाजमुल हसनले आफू पूर्णरुपमा फिट नभएको समयमा खेल्ने निर्णय गरेकोसमेत आरोप लगाएका थिए । साथै बिहीबार लिएको निर्णय भावुक भएर लिएको बताएका थिए । इकबालले बंगादेशका लागि तीनै फम्यार्टमा शतक बनाएका छन् ।

सन् २००७ बाट खेल्न थालेका उनले करियरमा ८ हजार तीन सय १४ ओडीआई रन बनाएका छन् । बंगलादेशका सर्वाधिक स्कोरर उनले टेस्ट १० शतकसहित पाँच हजार एक सय ३४ रन बनाएका छन् । उनले सन् २०२२ मा टी–ट्वान्टी फम्यार्टबाट सन्यास लिइसकेका छन् ।

सम्बन्धित शीर्षकहरु