काठमाडौं । बास डि लिडेको सानदार अलराउन्ड प्रदर्शनमा नेदरल्यान्ड्सले आइसीसी विश्वकप छनोटको सुपर सिक्स खेलमा स्कटल्यान्डलाई चार विकेटले हराउँदै विश्वकपमा स्थान पक्का गरेको छ ।
स्कटल्यान्डले दिएको २ सय ७८ रनको लक्ष्य नेदरल्यान्ड्सले ४२ दशमलब ५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । नेदरल्यान्ड्सको जितमा बास डि लिडेले १ सय २३ रनको सानदार शतकीय इनिङ खेले । त्यस्तै सकिब जुलफिकर अविजित ३३ रन बनाए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७७ रन बनायो ।
स्कटल्यान्डका लागि ब्रेन्डम म्याकमुलनले १ सय ६ रन बनाए । कप्तान रिचि बेरिंग्टनले ६४ रनको अर्धशतकीय ईनिङ खेले । नेदरल्यान्ड्सका लागि बास डि लिडले १० ओभरमा ५२ रन खर्चिएर ५ विकेट लिए । रायन क्लायनले २ तथा लगेन भान बिकले १ विकेट लिए ।
योसँगै विश्वकपमा पुग्ने दुबै टिमको टुंगो लागेको छ । श्रीलंकाले यसअघि नै विश्वकपमा स्थान बनाइसकेको थियो । दुई पटकको विश्वविजेता वेष्ट इन्डिज तथा जिम्बाबे भने विश्वकपमा छनोट हुन असफल भएका छन ।