काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आठ पटकको च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले लगातार छैटौं हार व्यहोरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आज चर्च ब्वाइज युनाईटेडसँग ३–० ले पराजित हुँदै मनाङले छैटौं हार व्यहोरेको हो । चर्च ब्वाइजलाई जित दिलाउन अनन्त तामाङ, मौषम सुब्बा र साइमन लिम्बुले एक–एक गोल गरे ।
लिगमा चर्च ब्वाइजको यो पाँचौं जित हो । चर्च ब्वाइजले १३ खेलमा २१ अंक जोडेको छ । मनाङले १३ खेलमा १५ अंक जोडेको छ ।
आजै भएको अर्को खेलमा हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी क्लबले बराबरी खेलेका छन् । दशरथ रंगशालामा हिमालयन र आर्मीले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । नवयुग श्रेष्ठले पहिलो मिनेटमा गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ५५ औं मिनेटमा विश्वास श्रेष्ठले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याए । शनिबार रोकिएको हिमालयन र आर्मीबीचको बाँकी खेल आइतबार भएको हो । यस बराबरीसँगै हिमालयनले १३ खेलमा १४ अंक जोडेको छ । आर्मीले १३ खेलमा २० अंक जोडेको छ ।