काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि निरन्तर आक्रमणको प्रयास भएपनि सरकार मुकदर्शक बनेको गुनासो गर्नुभएको छ ।
पार्टी निकट अखिल नेपाल किसान महासंघले आज पार्टी मुख्यालयमा गरेको कार्यक्रममा उहाँले पूर्वका विभिन्न जिल्लामा आफूमाथिको आक्रमण प्रयासमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनका परिवारको संलग्नता रहेको जिकीर गर्नुभयो ।
उदण्ड, अराजनीतिक खालको गतिविधिलाई नियन्त्रण गर्नुको साटो सत्तारुढ दलकै कार्यकर्ताले ढुंगामुढा गरेको उहाँको आरोप छ । हरेक ठाउँमा २० जनाजति एउटै समूहका मानिसले आफूमाथि आक्रमण प्रयास गरेपनि त्यसलाई नियन्त्रण गर्न सरकारले नचाहेको ओलीको भनाई छ ।
मुर्ख र बुद्धि नभएकाहरुले मात्रै राजतन्त्र मान्ने टिप्पणी गर्दै ओलीले स्वार्थी तत्व, विकाउ माल, अपराध कर्ममा लागेकाले मात्रै राजतन्त्रलाई मान्ने उहाँको आरोप थियो ।
अध्यक्ष ओलीले महाकाली सन्धि आफूहरुले सच्याएको भन्दै बाँध बाँध्नका लागि भारतलाई जमिन दिने गरी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भारतसँग गरेको सहमतीलाई खारेज गरेको बताउनुभयो । उहाँले महाकाली सन्धिलाई सच्याउने काम आफूहरुले प्रतिपक्षमा रहेर गरेको तथ्य अहिले नबुझ्नेहरुले पछि बुझ्दै जाने बताउनुभयो ।