काठमाडौं । मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगले पीडितलाई १५ दिनभित्र उजुरी पेश गर्न आह्वान गरेको छ । सरकारद्धारा गठित ‘अनुचित लेनदेन सम्बन्धी जाँचबुझ आयोग, २०७९’ सम्पर्क कार्यालयले पीडितलाई १५ दिनभित्र उजुरी पेश गर्न आह्वान गरेको हो ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आज विज्ञप्ति निकाली उजुरी दिन आह्वान गर्नुभएको छ । सरकारले गत चैत २० गते कार्कीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।
सो आयोगले यही वैशाख १७ गतेदेखि धनुषाको जनकपुरमा कार्यालय स्थापना गर्दैछ । आयोगले १७ देखि ३१ गतेसम्म उजुरी आह्वान गरेको हो ।
साथै प्रत्येक जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज पीडित सहायता कक्ष स्थापना गरिएको जानकारी दिँदै आयोगले सोही कक्षमा निवेदन फाराम निशुल्क उपलब्ध हुने जनाएको छ ।
निवेदन फाराम जिल्ला प्रशासन कार्यालयकै कर्मचारीले भराइ दिने प्रबन्ध मिलाएको जनाइएको छ ।