कास्की । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त हुनुभएको छ ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेशसभा सदस्यका हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । पाण्डेले शुक्रबार मात्र शपथ लिनुहुनेछ ।
मुख्यमन्त्रीमा नियुक्त पाण्डे गण्डकी प्रदेशको पाँचौ मुख्यमन्त्री हुनुहुन्छ । उहाँले कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङको हस्ताक्षरसहित आफूलाई मुख्यमन्त्रस् नियुक्त गर्न दाबी पेश गर्नुभएको थियो ।
केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेकपा माओवादीका भौतिक पूर्वाधार मन्त्री हरिबहादुर चुमान र पर्यटन मन्त्री रेशम जुग्जालीले राजीनामा दिँदै चैत १० गते समर्थन फिर्ता लिएपछि एमालेका खगराज अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको थियो । खगराजले वैशाख ९ गते प्रदेशसभामा विश्वासको मत पाउन सक्नुभएको थिएन् ।
संविधानको धारा १६८ (३) बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गर्ने कि उपधारा २ बमोजिम बमोजिम नै बहुमतको सरकार गठन गर्न आह्वान गर्ने भन्ने अन्योल थियो ।
कानुनी परामर्शपछि सरकार ढलेको ३ दिनपछिमात्र प्रदेश प्रमुख गुरुङले उपधारा २ बमोजिम नै बहुमतको सरकार गर्न आह्वान गर्नुभएको थियो ।