काठमाडौं । बायाँ हाते युवा अलराउन्डर कुशल मल्लको कीर्तिमानी शतकको सहयोगमा नेपालले एसिसी प्रिमियर कपमा ओमानमाथि ८४ रनको सानदार जित हात पारेको छ । लगातार दोस्रो जितसँगै नेपालको सेमिफाइन पुग्ने सम्भावना बलियो बनेको छ ।
प्रतियोगितामा यो नेपालको लगातार दोस्रो जित हो । यो नेपालको ५० औं ऐतिहासिक एकदिवसीय क्रिकेट पनि रह्यो । यससँगै नेपाल प्रतियोगिताको समूह ‘ए’ मा दुई खेलबाट चार अंक बटुल्दै शीर्ष स्थानमा रहेको छ ।
जितका लागि ३ सय ११ रनको लक्ष्य पाएको ओमानले ४६.३ ओभरमा सबै विकेट गुमाएर २ सय २६ रन मात्र बनाउन सक्यो । ओमानका मोहम्मद नदिमले बनाएको ६५ रन नै सर्वाधिक उच्च व्यक्तिगत स्कोर रह्यो । यस्तै सन्दीप गोउडले ४६ रन बनाए ।
नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । योसँगै सन्दीपले एक दिवसीय क्रिकेटमा आफ्नो सय विकेट पूरा गरे र सबैभन्दा कम खेल खेलेर सय विकेट लिने बलरको कीर्तिमान राखे । नेपालका करण केसीले पनि ३ विकेट लिए । दिपेन्द्रको नाममा २ विकेट रहयो ।
त्यसअगाडि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले आठ विकेट गुमाएर ३ सय १० रन बनाएको थियो ।
कमजोर सुरुआतलाई ओझेलमा पार्दै कुशल मल्लले आफ्नो खेल जीवनको पहिलो वान डे शतक बनाएपछि नेपालले ठूलो स्कोर बनाएको हो । नेपालको यो अहिलेसम्मकै उच्च स्कोर हो ।
कुशलले १ सय ८ रन बनाए । सोमपाल कामीले नटआउट रहेर ६३ रन जोडे । अर्का नटआउट ब्याटर करण केसीले २९ रन बनाए । ओमानका आयन खानले दुई विकेट लिए ।