चितवन । राप्ती नगरपालिकाका मेयर शमशेर लामाले नागरिकलाई शिक्षा र स्वास्थ्य उपलब्ध गराउने कुरामा नगरपालिका लागिपर्ने बताउनुभएको छ ।
नागरिकलाई नगरपालिकासँग प्रत्यक्ष जोड्ने उदेश्यले सञ्चालन गरिएको जनतासँग मेयर कार्यक्रममा बोल्दै उहाँले नगरभित्र नागरिकले आभाष गर्ने गरी शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।
राप्ती नगरपालिकाको वडा नम्बर ७ मा भएको कार्यक्रममा स्थानीयले अहिले पनि विद्यालयमा भर्ना गर्दा शुल्क तीर्नुपरेको तथा निशुल्क औषधि नपाएको गुनासो गरेका थिए । उनीहरुले नगरपालिकाले कृषि क्षेत्रमा पनि आफूहरुलाई आभाष हुने गरी काम गर्न नसकेको भन्दै प्रमुख लामासँग दुखेसो पोखेका थिए ।
स्थानीयको समस्यामा आफू गम्भीर भएको भन्दै प्रमुख लामाले विद्यालयले लिएको शुल्क तत्काल फिर्ता गर्न निर्देशन दिनुभयो । शुल्कका सम्बन्धमा नगरपालिकाको शिक्षा शाखा मार्फत अनुगमन गर्ने र त्रुटी देखिए तत्काल कारबाही गरिने उहाँले बताउनुभयो ।
स्वास्थ्य र कृषि क्षेत्रको सुधारका लागि नगरपालिकाले योजना बनाएर काम गरिरहेको उहाँको भनाई थियो ।
कार्यक्रममा राप्ती नगरपालिका वडा नं ७ की अध्यक्ष सुमिता डल्लाकोटीले आउँदो वर्षको बजेटमा स्थानीय अवश्यकता र प्राथमिकताको आधारमा योजना ल्याउन अनुरोध गर्नुभयो ।
विशाल न्यूजले सञ्चालन गर्दै आएको कार्यक्रमलाई राप्ती नगरपालिकाले समन्वय गर्दै आएको छ ।