Aafno Khabar
add khanepani

साफ च्याम्पियनसिपको मिति घोषणा

  • आफ्नो खबर
  • March 19, 2023 प्रकाशित

काठमाडौं । दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप २०२३ को मिति घोषणा भएको छ । साफ च्याम्पियनसिप आगामी जुन २१ देखि भारतको दक्षिणी राज्य कर्नाटकको बेंगलुरमा हुनेछ ।

प्रतियोगिता आयोजनाको जिम्मा पाएको भारतीय फुटबल महासंघका अध्यक्ष कल्यान चाउबेले आइतबार मिति घोषणा गर्दै साफ च्याम्पियनसिप जुन २१ देखि जुलाई ३ सम्म हुने घोषणा गरेका हुन् । च्याम्पियनसिपका खेलहरु श्री कान्तिभरा स्टेडियमा हुनेछ ।गत महिना दक्षिण एसियाली फुटबल महासंघ साफको कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप भारतमा गर्ने निर्णय गरे पनि मिति र स्थान टुङ्गो लागेको थिएन ।

साफ च्याम्पियनसिप २०२३ मा दक्षिण एसियाका सबै टिमले सहभागिता जनाउने अपेक्षा छ । तर श्रीलंका फुटबललाई भने हाल फिफाले निलम्बन गरेको छ ।भारतीय फुटबल महासंघका अनुसार सहभागी टिमलाई दुई समूहमा विभाजन गरिने र दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

च्याम्पियनसिपको ड्रका लागि छिटै मिति घोषणा गरिने पनि महासंघले जनाएको छ । यसअघि १३औं संस्करणको साफ २०२१ मा माल्दिभ्समा भएको थियो । जहाँ नेपालले पहिलो पटक फाइनल पुग्दै इतिहास बनाएको थियो । तर उपाधि भिडन्तमा भारतसँग पराजित भएको थियो ।

नेपालले अहिलेसम्म साफ च्याम्पियनसिप जित्न सकेको छैन । भारतले सर्वाधिक ८ पटक उपाधि जितेको छ ।