काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्थगित भएका क्याम्पसमा चैत्र १२ गते अगाडि स्ववियु निर्वाचन गर्न निर्देशन दिएको छ । त्रिविले आइतबार विज्ञप्ति जारी गर्दै स्ववियु निर्वाचन नभएका क्याम्पसमा चैत्र १२ गते अगाडि गर्न निर्देशन दिएको हो ।
उपकुलपति प्रा.डा. धर्मकान्त वास्कोटाले विज्ञप्ति जारी गर्दे ‘स्थगन भएका क्याम्पस र कलेजमा आगामी चैत्र १२ गतेदेखि सञ्चालन हुन गइरहेको परीक्षालाई मध्यनजर गरी सो अगावै आपसी समझदारी कायम गर्दै कसैले कसैको हारजित नसम्झी विद्यार्थी युनियनको जितलाई केन्द्रविन्दुमा राखी स्थगन भएका निर्वाचन प्रक्रियालाई सम्पन्न गर्न सबै क्याम्पस प्रशासन, विद्यार्थी नेतृत्वकर्ता, विद्यार्थी वर्ग, सबै राजनैतिक दल, स्थानीय प्रशासन, आमसञ्चार जगत, अभिभावक वर्गलगायत सम्बन्धित सम्पूर्ण पक्षलाई हार्दिक अनुरोध गर्दछु ।’
त्रिविले शैक्षिक पात्रोलाई स्थिर बनाएर पठनपाठनलाई अभियानको रूपमा सञ्चालन गरी शैक्षिक गुणस्तरलाई अभिवृद्धि गरिने विज्ञप्तिमा उल्लेख गरेको छ ।
यस्तै त्रिविले आइतबार भएको स्ववियु निर्वाचनमा केही क्याम्पस र कलेजहरूमा सामान्य विवाद भएपनि अधिकांश स्थानमा शान्तिपूर्वक निर्वाचन सम्पन्न भएको जनाएको छ ।