Aafno Khabar
add khanepani

युएईविरुद्ध नेपाल ब्याटिङ गर्दै, ज्ञानेन्द्र र करण बेञ्चमा

  • आफ्नो खबर
  • March 12, 2023 प्रकाशित

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत युएईविरुद्ध नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेलका लागि नेपाली टिममा दुई खेलाडी परिवर्तन गरिएको छ।

टिमबाट करण केसी र ज्ञानेन्द्र मल्ल बाहिरिएका छन्। टिममा ललित राजवंशी र गुल्शन झाले स्थान बनाएका छन्। नेपाली टिम (रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, गुल्शन झा र सन्दीप लामिछाने।

उच्च फर्ममा रहेको नेपालले युएईलाई हराउँदै तालिकाको चौथो स्थानमा उक्लिन चाहन्छ। यो सँगै नेपालले आगामी चार वर्षको लागि ओडिआई मान्यता पक्का गर्नेछ।

सात देश सहभागी विश्वकप लिग टु क्रिकेटमा नेपाल अहिले ३३ खेलबाट ३४ अंक जोडेर पाँचौ स्थानमा रहेको छ। समान खेलबाट ३१ अंक जोडेको युएई छैटौ स्थानमा छ भने ११ अंक जोडेको पीएनजी सातौं स्थानमा रहेको छ।

पहिलो खेलमा पिएनजीसँग पराजित भएको युएईलाई शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता जोगाउन बाँकी तीनै खेल जित्नुपर्ने हुन्छ। लिगका पछिल्ला ९ मध्ये ८ खेलमा नेपालले जित हात पारेको छ। घरेलु मैदानमा भएका पछिल्ला पाँच खेलमा नेपाल अपराजित छ।

नेपाललाई सोझै विश्वकप छनोट खेल्न बाँकी तीनै खेल जित्नुपर्ने हुन्छ। युएई भने शीर्ष तीनको दौडबाट बाहिरिसकेको छ। विश्वकप लिग टु क्रिकेटमा आफ्ना सबै खेल सकाएको स्कटल्याण्ड ५० अंकसहित च्याम्पियन बन्दा ४४ अंकसहित ओमान दोस्रो, ३९ अंक जोडेको नामिबिया तेस्रो स्थानमा छन्। यस्तै ३५ अंक जोडेको अमेरिकाले पनि आफ्ना सबै खेल सकाएको छ।

नेपाल, युएई र पीएनजीबीचको काठमाडौंमा जारी अन्तिम सिरिज पछि चार वर्ष लामो विश्वकप लिग टु क्रिकेट सकिनेछ।

यो प्रतियोगिताको शीर्ष तीनमा पर्ने टोलीले जिम्बाबेमा हुने विश्वकप छनोटमा सोझै पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ। यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ।